तुलसी क्षेत्रीको नयाँ वर्षको कोसेली ‘रोधी घर’

सुमन श्रापित, पोखरा l


नयाँ वर्षको शुभकामना स्वरुप लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको‌ पछिल्लो लोक तथा दोहोरी गीत रोधी घर आइरहने बनायो को भिडिओ जि.सी. इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत ‌बजारमा आएको छ । सबैखाले गीतमा उत्तिकै न्याय गरेर गाउने सुमधुर स्वरकी धनी‌‌ तुलसी क्षेत्रीलाई सह गायनमा लोकप्रिय गायक प्रदीप त्रिपाठीले साथ दिएका छन् । गीतको रचना तुलसी क्षेत्रीको र सङ्गीत प्रदीप त्रिपाठीको‌ रहेको छ‌ । यस गीतको दृश्याङ्कन ससुराली रोधी घर, न्यूरोड, पोखरामा गरिएको हो । भिडिओको मुख्य कलाकारको भूमिकामा गायक प्रदीप त्रिपाठी र तुलसी क्षेत्री स्वयम् रहेका छन् ‌। अन्य थुप्रै कलाकारहरुलाई‌ पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ ‌।

साथीभाइहरुको सँगतले रोधी घर पुगेका प्रदीपलाई रोधी घरकी गायिका तुलसीको‌ सुन्दरताले तान्छ अनि उनी सधैँ रोधी घर पुग्छन् ।‌ यसै कथावस्तुलाई आधार बनाएर बनाइएको यस भिडिओमा रोधी घ अर्थात् दोहोरी गीत गाउने गायिका र त्यहाँ जाने पाहुनाबीच भएको निकै रोचक जुगलबन्दी सुन्न पाइन्छ ।

गीत र गीतको भिजुयल निकै दमदार बनेको छ । यसरी गीतको‌ जुन मर्म छ त्यो‌ मर्मलाई उत्तिकै न्याय गर्नेगरी भिडिओ बनाइदिएको‌मा खुशी ब्यक्त गर्दै गायिका तुलसी क्षेत्रीले भिडिओ युनिटलाई धन्यवाद ब्यक्त गरेकी छिन् । यस भिडिओको निर्देशन होम गुरुङले, छायाङ्कन गणेश सापकोटाले र इडिटिङ सुवास अम्गाईले गरेका हुन् । लामो समयदेखि लोक गायन र अभिनय मार्फत छुट्टै पहिचान बनाएकी तुलसी क्षेत्री गीत सङ्गीत र सिने जगतको गर्विलो नाम हो । समय सन्दर्भ अनुसारका गीत सङ्गीत पस्किरहने सरल र मिजासिलो स्वभावकी तुलसीको मायाप्रेम, बिछोड, बियोगसँगै तीज, दशैं, तिहार विशेष थुप्रै गीतहरु पनि बजारमा आएका छन् । यो गीतले उनलाई थप पहिचान दिनेमा उनी विश्वस्त रहेकी छिन् ।

 बाला जोबन, ब्ल्याक एण्ड ह्वाइट, चामल चौलानी, झिलीमिली तिहार, नामर्द पोइ, सानु मायालाई, माइतैमा दिल बस्यो बिरलै, दुःख पाइँदो रैछ आदि उनीद्वारा स्वरबद्ध लोकप्रिय गीतहरू हुन् । गायन सँगसँगै अभिनयकलामा पनि उत्तिकै पारङ्गत तुलसीले अग्निदहन, क्या बात चलचित्र र अन्य थुप्रै म्युजिक भिडिओमा अभिनय गरिसकेकी छिन् ‌भने उनीद्वारा अभिनित चलचित्र वडा अध्यक्ष रिलिज हुने क्रममा रहेको छ ।