पहिलोपटक भिडिओ निर्देशनमा गीतकार तारा

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गीतकार तारा अधिकारीको परिकल्पना तथा निर्देशन रहेको पहिलो म्युजिक भिडिओ पल पल सार्वजनिक भएको छ l आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सो भिडिओ विमोचन गरिएको हो l तारा अधिकारीको शव्दरचनामा रहेको सो गीतको भिडिओ केहीदिन अघि मात्र छायाङ्कन भएको थियो l गैरे सुरेशको सङ्गीत, राजन इशानको म्युजिक एरेञ्ज, मिक्सिङ् र माष्टरिङ् रहेको यस गीतमा प्रताप दासले स्वर दिएका छन् l

भिडिओमा गीतकार तथा निर्देशक ताराले नै प्रमुख नारी पात्रको रुपमा अभिनय गरेकी छिन् भने उनलाई सञ्चारकर्मी एवं समाजसेवीको रुपमा समेत उच्च ख्याति कमाएका लोकप्रिय कलाकार शिशिर भण्डारीले जोडीको रुपमा साथ दिएका छन् l यसैगरी भिडिओमा पहिलो नेपाली चलचित्रकी नायिका भूवन चन्दलाई आमाको भूमिकामा देख्न सकिन्छ l

बाबुराम निरौलाको सह-निर्देशन रहेको यो भिडिओको सम्पादन नकूल खड्काले गरेका हुन् l भिडिओ गीतकार, कलाकार तथा निर्देशक तारा अधिकारीकै आधिकारिक युट्युब च्यानल सुनौलो तारा मा आज अपरान्ह अपलोड गरिएको छ l

भिडिओमा शिशिरलाई डाक्टर र तारालाई बिरामीको भूमिकामा देखाईएको छ l जहाँ तारालाई देखेपछि शिशिर एकतर्फी प्रेममा डुब्दै जान्छन् र प्रेमको काल्पनिक संसारमा हराउँछन् l अन्तत: शिशिरले ‘म तिमीलाई धेरै माया गर्छु l तिमीसित बिहे गर्न चाहन्छु’ भन्ने म्यासेज पठाउँछन् l तर तारले ‘हाम्रो सम्बन्ध बिरामी र डाक्टरको मात्र हो’ भन्ने जवाफी म्यासेज पठाएपछि शिशिरको निराशासँगै भिडिओ सकिन्छ l गीत लेखनसँगै भिडिओ निर्देशन र अभिनयमा पनि कुशल क्षमता प्रस्तुत गरेकी सर्जक/कलाकार तारा अधिकारीबाट भविष्यमा अझ राम्रा भिडिओहरुको अपेक्षा गर्न सकिन्छ l