सङ्गीततर्फको प्रथम पुरस्कार शंकर थापा ‘स्माइल’ लाई

-तुलसी गिरी ‘भावुक’


भर्सटायल सङ्गीतकार/गायक शंकर थापा ‘स्माइल’ रेडियो नेपालद्वारा आयोजित २०७७ सालको ‘राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता’ डीपी खनालको शब्दरचनामा रहेको ‘खै कसले सुनिदिने मेरो गीतको चित्कार’ बोलको गीतबाट सङ्गीततर्फ प्रथम भएका छन् l आजभन्दा आठबर्ष अघि अर्थात् २०६९ सालको प्रतियोगितामा उनी गायनतर्फ प्रथम भएका थिए l लामो समयदेखि रेडियो नेपालले हरेक बर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता’ को आयोजना गर्दै आईरहेको छ l यसपटक रेडियो नेपालको ७१ औं वार्षिकोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो l गतवर्ष भने कोभिडको कारणले प्रतियोगिता स्थगित भएको थियो l

प्रतियोगितामा सङ्गीततर्फ शंकर थापा ‘स्माइल’ प्रथम भए भने गीतकारमा रमेश दाहाल र गायकमा सुवास मण्डलले पहिलो स्थान हासिल गरेका छन् l यसैगरी गायनतर्फ सुवासचन्द्र जोशीले दोस्रो पुरस्कार प्राप्त गरेका छन् l रत्न कुमार दंगाल र मुना ठटाल दुईजना तृतीय पुरस्कार बिजेता भए l गत चैत ११ गतेबाट सुरु भई १८ चैतमा फाइनल भएको यस प्रतियोगिताका विजेताहरुलाई बार्षिकोत्सवका दिन भव्य कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको छ l प्राप्त जानकारी अनुसार प्रतियोगितामा वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङ, वरिष्ठ गायिका तारा थापा र वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए l प्रतियोगितामा नेपालभरका सर्जक/कलाकारहरुले प्रतिस्पर्धा गरेका थिए l