‘आलाप दोहोरी प्रतियोगिता’ को समुद्घाटन सम्पन्न


उच्च शिक्षाका लागि आलाप दोहोरी घर भन्ने मूल नाराका साथ आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ को समुद्घाटन कार्यक्रम चैत्र १४ गते काठमाडौंस्थित चलचित्र बिकाश कम्पनी प्रा.लि. भवनको माथिल्लो तलामा रहेको आलाप दोहोरी घरकै हलमा भब्य रुपले सम्पन्न भएको छ । कार्यक्रम सोही प्रतियोगिताका अध्यक्ष तथा गायक, सङ्गीतकार, एरेञ्जर झलक सङ्गीतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रुपमा वाणिज्य तथा आपूर्ती मन्त्री कमला बिक रहेकी थिईन् ।

नेपाली मौलिक गीत सङ्गीतको जर्गेना गर्नुका साथै नयाँ कलाकारहरुको उत्पादन गर्ने उद्देश्यका साथ आयोजना भएको सो प्रतियोगितालाई प्रमुख अतिथि वाणिज्य तथा आपूर्ती मन्त्री कमला बिकले रिवन काटी उद्घाटन गरेकी थिईन् । समुद्घाटन कार्यक्रममा लोकप्रिय गायक राजु परियारले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन रेशम सापकोटा र पूर्णकला बिसीले गरेका थिए । कार्यक्रममा चर्चित कलाकारहरु, समाजसेवीहरु, पत्रकारहरु र गीत सङ्गीतका शुभचिन्तकहरुको बाक्लो उपस्थिति  रहेको थियो । प्रतियोगिताको समुद्घाटन कार्यक्रमको मिडिया संयोजकको भूमिका पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ ले निर्वाह गरेका थिए ।

आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ मा बिल्कुलै नयाँ भाका अनि फरक शैलीमा प्रस्तुत हुने र बिजेतालाई रु.२ लाख पुरस्कारका साथै नयाँ गीतको अडियो भिडियो उत्पादनका लागि खर्च गरिदिने कार्यक्रमका अध्यक्ष झलक सङ्गीतमले जानकारी गराएका छन् । कार्यक्रमकी प्रमुख अतिथी कमला बिकले गीत सङ्गीतको बिकाशको लागि जे पनि गर्न तयार रहेको बताउदै सङ्गीत बिकाश बोर्डको स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आलाप दोहोरी प्रतियोगितालाई आफूले सक्दो सहयोग गर्ने बाचा गरेकी छिन् ।

आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ मा निर्णायकहरुको रुपमा राजु परियार, विष्णु खत्री, पशुपति शर्मा, रामजी खाँण, नवराज घोरासैनी, रेशम थापा, ईन्दिरा गोले, देबी घर्ती, टिका पुन, मञ्जु पौडेल, खुमन अधिकारी लगायतका सर्जक/कलाकार रहेका छन् भने यस प्रतियोगिताको कार्यक्रम अवधीभर सञ्चालकको रुपमा रेशम सापकोटा, पूर्णकला बिसी, कुल बहादुर ओली र टिका सानु रहने छन् । आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ करिव ९ महिनासम्म सञ्चालन रहेको कुरा आयोजक पक्षले जनाएको छ ।

यस प्रतियोगितामा ४ वटा समूह सगरमाथा हिमाल, कञ्चनजंगा हिमाल, धौलागिरि हिमाल र अन्नपूर्ण हिमाल रहने जानकारीमा आएको छ । लोक सङ्गीतको बृहत्तर विकाशका लागि सधै नै अनवरत रुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रतियोगीहरुलाई नयाँ भाका सिकाएर आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ मा प्रतिस्पर्धा गराउने कुरा अध्यक्ष झलक सङ्गीतमले बताए । ‘यो प्रतियोगिता मात्र नभएर विद्यालय जस्तो पनि हो र धेरैले धेरैकुरा सिक्न पाउने छन्’ सङ्गीतमले भने ।