‘सप्तरङ्गी प्रतिभाको खोजी’ सम्पन्न

सृजना गहतराज, पोखरा l


गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसङ्गको सहकार्यमा सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित सप्तरङ्गी प्रतिभाको खोजी-२०७७ एकल खुल्ला गायन‌ प्रतियोगिता तथा सामूहिक लोकनृत्य प्रतियोगिता‌ पोखरा उद्योग वाणिज्य सङ्घको‌ सभा हलमा शुक्रबार सम्पन्न भयो । संस्थाका कार्यबाहक अध्यक्ष खिमकुमार गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रम संस्थाका महासचिव मनकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ‌ प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि गुरुङले कार्यक्रम उद्घाटन र सम्पूर्ण प्रस्तुति अवलोकनपछि भूगोलले देश सानो भएपनि र अवस्थाले देश गरिब भएपनि कला र संस्कृतिले हाम्रो देश विशाल र हामी धनी छौं भन्ने आजको यी प्रस्तुतिहरुले प्रमाणित गरेको बताउनुभयो । प्रदेश सरकारले छुट्याएको सानो रकमले यति‌ विशाल कार्यक्रमको‌ आयोजना गरेकोमा आयोजक संस्था सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानलाई‌ कृतज्ञता ब्यक्त गर्नुभयो ।

 सप्तरङ्गी प्रतिभाको खोजी-२०७७ एकल खुल्ला गायन‌ प्रतियोगिताका लागि विभिन्न चरणको कडा प्रतिस्पर्धाबाट अन्तिम चरणको फाइन‌ल राउण्डका लागि १२ जना छनोट गरिएको थियो ।‌ तिनै १२ जना बीचको प्रतिस्पर्धाबाट पर्वतका अरुण सुनारले दर्पण राईको शब्द र टंक बुढाथोकीको सङ्गीतमा रहेको तिम्ले बाटो फेर्यौ अरे बोलको गीत गाएर सप्तरङ्गी प्रतिभाको खोजी २०७७ को प्रथम बिजेताको‌ उपाधि हात पार्न सफल भए । त्यसैगरी कास्कीकी सङ्गीता गायक द्वितीय र म्याग्दीका राम घर्तिमिरे तृतीय भए भने बाग्लुङका जीवन बिश्वकर्मा सान्त्वना पुरस्कार विजेता भए । जसमा प्रथम पुरस्कार पचास हजार रुपैया, प्रमाण पत्र र ट्रफी, द्वितीय पुरस्कार २५ हजार रुपैया, प्रमाण पत्र र ट्रफी, तृतीय पुरस्कार १५ हजार रुपैया, प्रमाण पत्र र ट्रफी र सान्त्वना पुरस्कार सात हजार पाँचसय, प्रमाण पत्र र ट्रफी रहेको थियो । साथै अन्य सहभागी प्रतियोगीहरुलाई दुई दुई हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस गायन कार्यक्रमका लागि निर्णायकहरुमा सङ्गीतकार बिबि अनुरागी, गायक विनोद बानियाँ र गायिका अजुदा थापा रहनुभएको थियो । त्यसैगरी सामूहिक लोकनृत्य प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लाका १२ टिमले सहभागिता जनाएका थिए । यिनै १२ टिमको प्रतिस्पर्धाबाट सामूहिक लोकनृत्य प्रतियोगिताको‌ प्रथम‌ पुरस्कार नेपाल मगर विद्यार्थी सङ्घ तनहुँले हात पारेको छ । सङ्घले तनहुँको विशेष चिनारी कौडा नृत्यद्वारा यो पुरस्कार प्राप्त गरेको  हो । जसको पुरस्कार राशी नगद एक‌लाख, ट्रफी र प्रमाणपत्र रहेको थियो । प्रतियोगितामा म्याग्दीको लालिगुराँस पुन मगर समाजले प्रस्तुत गरेको थाली नृत्य द्वित्तीय, कास्की सिक्लेस पार्चेको रोधी नृत्य तृतीय र बिटुडि डान्स स्कुल कास्कीको झ्याउरे नृत्यले सान्त्वना स्थान प्राप्त गर्‍यो । द्वितीय हुनेले पचास हजार, तृतीय हुने टिमले पच्चीस हजार र सान्त्वना हुने टिमले १५ हजार रुपैयाको साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यसका अलावा फाइनलिष्ट सबै टिमलाई नगद पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । यसका लागि निर्णायकहरुमा नृत्य निर्देशकहरु गम्भीर बर्देवा, धनबहादुर गुरुङ, गमबहादुर गुरुङ र राज बहादुर गुरुङ रहनुभएको थियो ।

दुलही जस्तै झकिझकाउ मञ्चमा विभिन्न सँस्कृतिमूलक नृत्यले कार्यक्रमको‌ रौनकता नै छुट्टै बनेको थियो ‌। बिशेषगरी पोखरा र पोखरेली मञ्चका लागि थारु नाच नौलो‌ र फरक स्वाद बनेको थियो । दर्शकबाट प्राप्त ताली र हुटिङले कलाकारहरु निकै हौसिएका थिए ‌। सोही समारोहमा पोखरा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी सम्मान र संस्थाका नयाँ आजीवन सदस्यहरुलाई‌ सदस्यताको‌ प्रमाणपत्र समेत प्रदान गरिएको‌ थियो ।