‘सप्तरङ्गी प्रतिभाको खोजी’ को‌ अन्तिम तयारी पूरा

सृजना गहतराज, पोखरा ।


गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालय सङ्गको सहकार्यमा सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित सप्तरङ्गी प्रतिभाको खोजी-२०७७ एकल खुल्ला गायन‌ प्रतियोगिता तथा सामूहिक लोकनृत्य प्रतियोगिताको फाइनल राउण्डको अन्तिम तयारी पूरा भएको छ । समारोह यही चैत १३ गते शुक्रबार आयोजना हुने कुरा थाहा भएको छ l

मङ्गलबार संस्थाका कार्यवाहक अध्यक्ष खिमकुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको सफलताको लागि विभिन्न काम बाँडफाड गरि तयारी पूरा गरेको‌ कुरा संस्थाका महासचिव मनकुमार श्रेष्ठले जानकारी गराउनुभयो ‌ । पोखरा उद्योग वाणिज्य सङ्घको‌ सभा हलमा आयोजना हुने उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थ तथा मामिला मन्त्री किरण गुरुङ प्रमुख अतिथि रहनुहुने समेत महासचिव श्रेष्ठले जानकारी गराउनु भयो ।

गायन र नृत्य प्रतियोगिताको फाइनल कार्यक्रम सङ्गसङ्गै सोही समारोहमा पोखरा प्राज्ञ प्रतिष्ठानका पदाधिकारीहरु र संस्थाका आजीवन सदस्यहरुलाई समेत सम्मान गरिने संस्था कार्यवाहक अध्यक्ष खिमकुमार गुरुङले जनाउनुभयो । गायन अन्तर्गत सप्तरङ्गी प्रतिभाको खोजी-२०७७ एकल खुल्ला गायन‌ प्रतियोगिताका लागि विभिन्न चरणको कडा प्रतिस्पर्धाबाट फाइन‌ल राउण्डका लागि १२ जना छनोट गरिएको छ ।‌ जसमा जीवन बिश्वकर्मा-बाग्लुङ, राम घर्तिमिरे-म्याग्दी, बिजेश नेपाली-कास्की, अमन सुवेदी-बाग्लुङ, योगेश गौतम-स्याङ्जा, शान्त सुनार-बाग्लुङ ,कुसुम पुन मगर-बाग्लुङ, अरुण सुनार-पर्वत, सरिता राई-कास्की, उपेश थापा-कास्की, निर्मल बि.क- बाग्लुङ र सङ्गीता गायक-कास्की छनोट गरिएको प्रतियोगिताका कार्यक्रम संयोजक नवराज वरालले जानकारी गराउनुभयो ।

गायन कार्यक्रमका लागि निर्णायकमा सङ्गीतकार बिबि अनुरागी, गायक बिनोद बानियाँ र गायिका अजुदा थापा रहेको‌ कुरा कार्यक्रमका सह संयोजक सुमन श्रापितले बताउनु भयो ।  त्यसैगरी सामूहिक लोकनृत्य प्रतियोगितामा गण्डकी प्रदेशको मनाङ बाहेक सम्पूर्ण जिल्लाबाट सहभागिता रहेको कुरा सामूहिक लोक नृत्य प्रतियोगिताका कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिनुभयो । पहिलो चरणको आन्तरिक छनोटबाट १२ समूह प्रतिश्पर्धाका लागि छनोट गरिएको छ । गण्डकी प्रदेशको सम्पदाको रुपमा रहेको थाली नाच, सोरठी, ताय मच:, मारुनी, घाटु, बालन, कौडा, थारु नाच जस्ता संस्कृति झल्किने लोक नृत्यहरु रहने कुरा सह संयोजक जसु गुरुङले जानकारी गराउनुभयो । सामूहिक लोक नृत्य प्रतियोगिताका लागि निर्णायकमा नृत्य निर्देशकहरु गम्भीर बर्देवा, धनबहादुर गुरुङ, गमबहादुर गुरुङ र दान बहादुर गुरुङ रहेको कुरा समेत संयोजक गोरे गुरुङले जनाउनुभयो ।