राजनीतिक स्थिरता नै मुलुकको हितमा

डा. डीआर उपाध्याय


अब दलहरु मिलेर राजनीतिक गतिरोध तोडी मुलुकलाई निकास दिनुपर्ने आवश्यकता देखिएको छ । राजनीति एउटा गतिका साथ अघि बढ्नु पर्छ । नेपाली जनताले देशको बिकास र समृद्धि होस् भन्ने चाहेका छन् । यो जनताको चाहना दलहरुले पूरा गरिदिनु पर्छ । हिजो चुनावमा जनतासँग गरेका बाचा दलहरुले पूरा गरिदिन सक्दैनन् भने जनताले दलहरुलाई आगामी निर्वाचन मार्फत उचित फैसला गर्ने छन् । अहिले मुलुकमा बिघटित प्रतिनिधिसभा पुनर्स्थापना भएको अवस्था छ । तरपनि संसद्ले उपयुक्त विजनेस अनुसार काम गर्न सकिरहेको छैन । अहिले देशमा जुन किसिमका राजनीतिक गतिविधि भैरहेका छन् त्यो देखेर जनता निराश बन्न बाध्य छन् । जनतालाई निराश बन्न दिनु हुँदैन । यदि जनता निराश भए भने देशमा समस्या उत्पन्न हुन सक्छ । यो कुरा दलहरुले राम्रोसँग बुझन जरुरी छ ।

नयाँ सरकार बन्ने हल्लासँगै मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ जाने हो कि भन्ने चिन्ता पनि बढ्दै गएको छ । मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने खेल कसैले खेल्नु हुँदैन । यस्ता खेलले कसैलाई फाइदा गदैन । राजनीतिक अस्थिरतासँगै आफ्नो स्वार्थ पूर्ति गर्नेहरुको पनि यहाँ कुनै कमि छैन । सत्तास्वार्थको राजनीतिले मुलुकलाई अघि बढाउन सक्दैन । त्यसैले पनि दलहरुले राजनीतिक अस्थिरताको अवस्था आउन दिनुहुँदैन । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर समस्याको समाधान हुने अवस्था देखिदैन । झन समस्या बल्झिने देखिन्छ । त्यसैले निर्वाचनसम्म ओली सरकार नै हुनुपर्छ भन्ने हो । केपी शर्मा ओली पाँच वर्षका लागि जनादेश पाएका प्रधानमन्त्री हुन् । ओलीले सरकार त्यसै छोडेर मुलुकलाई भाँडभैलोमा हाल्न हुँदैन । त्यसैले तत्काल सरकार परिवर्तन गर्नु हुदैन । यो जनताले दिएको जनादेश हो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले पनि वैकल्पिक सरकारको नेतृत्व गर्न खोजेको छैन । कांग्रेसले चाहेर मात्र पनि सरकार बन्न सक्दैन । समस्या यो पनि छ । नेपाली कांग्रेसलाई सरकार गठनका लागि जनताले म्यान्डेट पनि दिएका छैनन् । सरकारलाई स्थिर बनाउने गरी सबै राजनीतिक दलहरू अघि बढेको खण्डमा राजनीतिले निकास पाउँछ भन्ने हो । संसद्को कामकारबाही पनि प्रभावकारी रूपमा अघि बढ्नु पर्छ । दलहरूबीच देखिएको विवादका कारण पनि संसद्को कामकारबाही प्रभावकारी हुन नसकेको हो । त्यसैले सबै दलहरू मिलेर अब राजनीतिक स्थिरता खोज्नु पर्छ । राजनीतिक अस्थिरताले मुलुकको हित गर्दैन भन्ने कुरा बिगतले पुष्टि गरेको छ । राजनीतिक स्थिरता नै मुलुक र मुलुकवासीको हितमा हुनेछ ।

सत्तारूढ दलका असन्तुष्ट पक्ष तथा प्रमुख प्रतिपक्षी कांग्रेस तथा अन्य सबै राजनीतिक दलहरू पनि राजनीतिक अस्थिरताको खेलमा लाग्नुहुँदैन । राजनीतिलाई गलत दिशामा जान दिनु हुँदैन । प्रधानमन्त्री ओलीले यसमा सबैभन्दा ठूलो भूमिका खेल्नु पर्छ । त्यसैले प्रधानमन्त्रीले कसैप्रति पनि आग्रह पूर्वाग्रह राख्नु हुँदैन । राजनीतिक स्थिरताको वातावरण बनाउने सबैभन्दा ठूलो जिम्मेवारी प्रधानमन्त्री ओलीकै हो ।