‘सप्तरङ्गी प्रतिभाको खोजी’ फाइनलका लागि १२ जना छनोट‌

सृजना गहतराज, पोखरा ।


गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालय सँगको सहकार्यमा सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित सप्तरङ्गी प्रतिभाको खोजी-२०७७ एकल खुल्ला गायन‌ प्रतियोगिताको दोस्रो चरण‌ अर्थात सेमिफाइनल अडिसन शनिबार पोखरामा सम्पन्न भयो । आयोजक संस्थाका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक नवराज वरालको‌ सभापतित्व र कार्यबाहक सचिव एवम् कार्यक्रमका सह संयोजक सुमन श्रापितको‌ सञ्चालनमा भएको सो औपचारिक कार्यक्रममा गण्डकी प्रदेश, सामाजिक मन्त्रालयका सचिव विनोद बहादुर कुँवर प्रमुख अतिथि ‌रहनुभएको‌ थियो ‌। प्रमुख अतिथि कुवँरले गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र सँस्कृतिको उद्गमस्थल रहेको चर्चा गर्दै आगामी बर्षहरुमा अझै फराकिलो ढङ्गले यस्तै गतिबिधि गर्नको निम्ति आफ्नो‌ मन्त्रालयबाट सक्दो पहल‌ गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

त्यसैगरि विशेष अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पोखरा प्रज्ञा प्रतिष्ठान जस्तै छिट्टै नै गण्डकी प्रज्ञा प्रतिष्ठान पनि‌ गठन हुने कुरा औंल्याउँदै भाषा-साहित्य, गीत-सङ्गीत र संस्कृतिको संरक्षण तथा सम्बर्धनका निम्ति काम गर्ने वातावरण बल्ल सृजना भएको बताउनुभयो । संस्थाका सल्लाहकार अभिमन्यु‌बिक्रम राणा, महासचिव मनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहकोषाध्यक्ष सानु जोजिजूले स्वागत मन्तव्य राख्नुभएको थियो ‌।

जन्मले वा कर्मले गण्डकी प्रदेश अन्तर्गतका बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जा, नवलपुर, लमजुङ, तनहुँ, गोर्खा, मनाङ, मुस्ताङ र कास्कीका प्रतियोगीहरु बीच पहिलो चरणको अडिसनबाट दोस्रो ‌चरणको सेमिफाइनलका लागि २८ जना प्रतियोगीहरु छनोट भएका थिए । तिनै छनोट भएका प्रतियोगीहरु बीचको‌ कडा प्रतिस्पर्धाबाट फाइन‌ल राउण्डका लागि १२ जना छनोट गरिएको छ ।‌ जसमा जीवन बिश्वकर्मा बाग्लुङ, राम घर्तिमिरे म्याग्दी, बिजेश नेपाली कास्की, अमन सुवेदी बाग्लुङ, योगेश गौतम स्याङ्जा, शान्त सुनार बाग्लुङ, कुसुम पुन मगर बाग्लुङ, अरुण सुनार पर्वत, सरिता राई कास्की, उपेश थापा कास्की, निर्मल बि.क. बाग्लुङ र  संगीता गायक कास्की छनोट भएको‌ कुरा निर्णायकहरु मध्येकी एक लक्ष्मी गिरीले जानकारी गराउनुभयो ।

अडिसनको निर्णायकमा सङ्गीतकार नवराज बराल, गीतकार सुमन श्रापित र गायिका लक्ष्मी गिरी रहनुभएको थियो । त्यसैगरि प्रतियोगीहरुले लाइभ म्युजिक र म्युजिक ट्रयाकमा छुट्टाछुट्टै आ-आफ्नो‌ प्रस्तुती राखेका थिए । लाइभ म्युजिकका लागि वाध्यवादनमा दिवस थापा मगर, मिलन गिरी, सूर्य घतानी र सुनिल बराल रहनुभएको थियो । बीच बीचमा उपस्थित दर्शक एवम् प्रतियोगीहरुलाई अथिति कलाकारको भूमिका निर्वाह गर्दै प्राज्ञ पद्मराज ढकाल, प्रदीप तिवारी र करुणा घमालले थप‌ मनोरञ्जन प्रदान गर्नुभएको थियो । यस सेमीफाइनल अडिसनमा मिडिया पार्टनरको रुपमा खोज मिडियाको‌ उल्लेखनीय भूमिका रहेको थियो । अबको फाइनल राउण्डमा प्रतियोगीहरुले एक‌ लाइभ म्युजिक र अर्को म्युजिक ट्रयाकमा गरी दुईवटा गीतहरू गाउनुपर्ने कुरा संस्थाका महासचिव मनकुमार श्रेष्ठले जनाउनुभयो । आगामी चैत ७ गते पोखरा उधोग वाणिज्य सङ्घको‌ हलमा सप्तरङ्गी प्रतिभाको खोजी-२०७७ { एकल खुल्ला गायन‌ प्रतियोगिता }सामुहिक लोक नृत्य प्रतियोगिताको एकै मञ्चमा फाइनल प्रतिस्पर्धा हुने कुरा थाहा भएको छ ।