‘जुनो अवार्ड’को तीन विधामा छानिए नेपाली मुलका कर्टिस वाटर्स


क्यानडाको प्रतिष्ठित जुनो अवार्ड-२०२१ को नोमिनेसन हालै सार्वजनिक भएको छ । मङ्गलबार सार्वजनिक गरिएको मनोनयनमा नेपाली मूलका गायक कर्टिस वाटर्स अर्थात अभि बस्ताकोटी विभिन्न तीन विधामा पहिलो पटक छनोटमा परेका छन् । उनी यस बर्षको जुनो फ्यान च्वाइस अवार्ड ब्रेक थ्रु आर्टिस्ट अफ द इएर को प्रतिस्पर्धामा छानिएका हुन् । यसका साथै उनको पिटी पार्टी एल्बम यस बर्षको अल्टर्नेटिभ एल्बम अफ द इएर को लागि छनोटमा परेको छ । फ्यान च्वाइस अवार्डको लागि उनी विश्व विख्यात गायक जस्टिन बिबर, शन मेन्डेज, लेनन स्टेला, द विकेन्ड, जे पी स्याक्स लगायतका गायक गायिकासँग प्रतिस्पर्धा गर्दैछन् । यसैगरी उनीसंगै यस वर्षको ब्रेक थ्रु आर्टिस्ट क्याटेगोरीमा रेल्याण्ड जेम्स्, टेट म्याकरे, पोफुल र जेपी स्याक्स पनि छन् ।

अल्टर्नेटिभ एल्बम अफ द इएरको लागि कर्टिस वाटर्सको पिटी पार्टी सहित अन्य चर्चित कलाकारका चारवटा एल्बम पनि परेका छन् । यस बर्षको अवार्ड मनोनयनमा द विकेन्ड छ विधामा छनोटमा परेका छन् भने सुपरस्टार जस्टिन बिबर, जे पी स्याक्स र जेसी रियाज विभिन्न पाँच विधामा छनोटमा परेका छन् । पहिलोपटक नै चर्चित कलाकारहरूसँगै तीन विधामा छनोटमा परेपछि खुसी प्रकट गर्दै कर्टिस वाटर्सले आफूले गीत सङ्गीतलाई प्रतिस्पर्धाको लागि भन्दा पनि व्यक्तिगत खुसी र भावना व्यक्त गर्नका लागि गरिने सिर्जनात्मक कामको रुपमा लिएको बताए । यद्यपि उनले यो मनोनयनबाट आफ्नो कामलाई पाश्चात्य सङ्गीतको मूलधारमा स्थापित गर्न थप मद्दत पुग्ने विश्वास लिएका छन् ।

सन् १९९९ को डिसेम्बरमा काठमाण्डौमा जन्मेका अभि बस्ताकोटी साङ्गीतिक क्षेत्रमा कर्टिस वाटर्स नामले चिनिन्छन् । आफ्ना अभिभावकसँगै क्यानाडा हुँदै हाल अमेरिकाको नर्थ क्यरोलाइना बसोबास गर्दै आएका कर्टिस अघिल्लो बर्ष स्टनिन गीत मार्फत् विश्वभरि चर्चित भएका थिए । उनको उक्त गीत हालसम्म विभिन्न प्ल्य़ाटफर्ममा ३७५ मिलियन भन्दा बढी पटक स्ट्रिमिङ्ग भैसकेको छ । उनको यो गीत क्यानडामा प्लाटिनम सर्टिफाइड, ब्राजिल र म्याक्सिकोमा गोल्ड सर्टिफाइड भएको छ ।

यसैगरी स्टनिन क्यानाडाको उत्कृष्ट ४० गीतको सातौं स्थानमा र बिल्वोर्ड हट -१०० क्यानडा चार्टको उत्कृष्ट २५ मा परेको थियो। टिकटक प्रविधिको प्रयोगबाट इन्टरनेटमा गीत सङ्गीतलाई चर्चित बनाउन सफल भएकोले कर्टिस वाटर्स यही मार्च १३ मा टिकटक र लजिटेकले पहिलोपटक प्रदान गरेको द सङ्ग ब्रेकर अवार्ड बाट समेत सम्मानित भएका छन् ।