तारा अधिकारीको गीतमा पल र गरिमाको रोमाण्टिक जोडी

तुलसी गिरी ‘भावुक’


लोकप्रिय गीतकार तारा अधिकारीको शब्दरचनामा रहेको गीत लाली ओठैमा को भिडियो सार्वजनिक भएको छ l मेलोडीमा पूर्वेली लोक रङ्गको मिठास रहेको यस गीतका सङ्गीतकार राजनराज शिवाकोटी हुन् l आधुनिक गीतमा ग्रामिण परिवेश र पृष्ठभूमिका शब्द एवं सङ्गीतको महक सम्मिश्रण गरेर स्रोताको मन जित्दै लोकप्रियताको उच्चतम् विन्दु चुमेका सर्जक/कलाकार राजनराजले यस गीतलाई पनि आफ्नो पनको महकले सिङ्गारेका छन् l किशोर थापाको माष्टरिङ/मिक्सिङ रहेको यस गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर रहेको छ l

रमेश थापाको निर्देशन र राजिव समरको कोरियोग्राफीमा छायाङ्कन भएको यस गीतको भिडियोमा पल शाह र गरिमा शर्माले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l गीतको भाव र सङ्गीतको प्रकृति अनुसार भिडियोमा पनि ग्रामिण परिवेशका दृश्य एवं भेषभूषा देख्न सकिन्छ l गीतको पृष्ठभूमिलाई स्थापित गर्नको लागि सुरुमा केही संवादयुक्त दृश्य राखिएको छ भने कमेडी शैलीमा भिडियोको सुखद् अन्त्य गरिएको छ l करण चैसिरको सिनेम्याटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको यो म्युजिक भिडियो गीतकार तारा अधिकारीकै अफिसियल युट्युब च्यानल Sunaulo Tara बाट आजै रिलिज भएको हो l

गीतकार अधिकारीका हालसम्म सपना र सुनौलो तारा गरी दुई एल्बम तथा डेढ दर्जनजति भिडियो सार्वजनिक भएका छन् l जसमध्ये गुलेलीमा  शीर्षकको भिडियोले ४८ लाख र  लुकी लुकी चोरी चोरी भिडियोले २७ लाख भ्युज पाएका छन् l