सरिता र हिमालयको स्वरमा देउडा भाका ‘हे गाजली’


यसअघि विभिन्न शैलीका गीत श्रोतामाझ ल्याएकी गायिका सरिता भारतीले आफ्नो नयाँ देउडा भाकाको गीत हे गाजली…को भिडियो दर्शकमाझ ल्याएकी छिन् । वसन्त पञ्चमीको अवसर पारेर यो गीतको भिडियो रिलिज गरिएको हो । गीतको अडियो भने केहीदिन अघि सार्वजनिक गरिएको थियो ।

यो देउडा गीतमा सरिता भारती र हिमालयराज ( हेमराज भट्ट ) को युगल स्वर रहेको छ । गीतको लय पनि हिमालयराजकै हो । यसअघि थुप्रै देउडा गीत गाएका हिमालय र सरिताले हे गाजलीमा युगल स्वर दिएका छन् ।

यसअघि आफूले हिमालयको देउडा गीत हे बैजु…को भिडियोमा अभिनय गरेको गायिका सरिताले बताईन् । सो भिडियो हेरेका श्रोताले आफूलाई देउडा गीत गाउन सल्लाह दिएपछि हिमालयराजसँग मिलेर यो गीत तयार पारेको कुरा गायिका भारतीले जानकारी गराएकी छिन् ।  
गीतमा राज सागरको सङ्गीत र टेकेन्द्र यक्सोको सङ्गीत संयोजन रहेको छ । भ्वाईस अफ नेपाल स्टुडियोमा दीप घतानीले यो गीतको रेकर्डिङ र मिक्सिङ गरेका हुन् ।

भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता स्वयंले मुख्य भूमिकामा अभिनय गरेका छन्  । गीत निकै मीठो बनेको र आफूले विगतमा अभिनय गरेका गीतहरु भन्दा केही फरक स्वादको भएकाले यसमा आफैंले अभिनय गरेको कुरा अभिनेता यसराजले बताए । यसराज र सरितासँगै यो गीतको भिडियोबाट मोडल तथा मेकअप आर्टिष्ट बिना रानामगर र जोयल्स बस्नेतले कलाकारको रुपमा डेब्यु गरेका छन् ।

लामो समयदेखि गीत लेख्दै आएका डब्बु क्षत्रीले यो गीत लेखेका हुन् । गीतलाई सुदूर पश्चिमको लवजमा ढालिएको गीतकार क्षत्रीले बताएका छन् । यो भिडियोको निर्देशन पनि गीतकार क्षत्रीले नै गरेका हुन् । पछिल्लो समय भेकका गीतहरु निकै रुचाईएकाले आफूले यो गीत तयार पारेको पनि उनले जानकारी गराए । गीतको भिडियोमा रामशरण उप्रेतीको छायाङ्कन, भरत रेग्मीको सम्पादन र श्याम बरालको शृङ्गार  रहेको छ ।