शिशिर योगीको प्रेरणादायी गीत ‘तिमी हिँडे बाटो बन्छ’

तुलसी गिरी ‘भावुक’


तिमी हिँडे बाटो बन्छ हिँडेर हेर त !
तिमी ब्युँझे देश जाग्छ ब्युँझेर हेर त
!!

गम्भीर र गहकिला भावका गीत मार्फत श्रोतामाझ विशिष्ट पहिचान स्थापित गरेका गायक शिशिर योगीले समय सापेक्ष एवं प्रेरणादायी गीत तिमी हिँडे बाटो बन्छ को भिडियो सार्वजनिक गरेका छन् l धन बहादुर ओलीको शब्दरचना र शिशिर स्वयंको सङ्गीत रहेको यस गीतमा अमूल कार्की ढलीको सङ्गीत संयोजन रहेको छ भने सङ्गम स्टुडियोका साउण्ड इन्जिनियर मित्र लामाले गीत रेकर्डिङ/मिक्सिङ गरेका हुन् l भिडियो एकदिन अघि मात्र गायक योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट सार्वजनिक भएको हो l

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सिनेम्याटोग्राफी रहेको यस भिडियोमा लोकेश भाटको सम्पादन रहेको छ l लामो समय अघिदेखि छायाकार र सम्पादकको रुपमा क्रियाशील रही आफ्नो क्षेत्रमा प्रसिद्धि कमाएका वीरेन्द्र भाट पछिल्ला केहीबर्ष यता भिडियो निर्देशनमा समेत फड्को मारिरहेका छन् l भिडियो वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l

चेतनामूलक भावले ओतप्रोत यस गीतले हरेक नेपालीलाई आफ्नो अन्तस्करण नियाल्न आग्रह गरेको छ l को अघि लाग्छ र कसले पहिला सुरु गर्छ ? त्यसपछि बिचार गरौंला ! भन्ने आम प्रवृत्ति उजागर गर्दै गीतले हरेक नेपालीलाई असल कर्मको सुरुआत आफैंले गर्नुपर्छ भन्ने चेतना दिएको छ l प्रत्येक नेपाली उत्तिकै स्वाभिमानी, उत्तिकै सक्षम, उत्तिकै विशेष, उत्तिकै जिम्मेवार र होनहार रहेको कुरा गीतमा भनिएको छ l सरल शब्दमा गहन भाव बोकेको यो गीतले जो कोही श्रोतालाई पनि भावुक बनाउँछ l समाज र देशप्रतिको कर्तव्य वोध गराउँछ l