‘सर्जक शरीरले मरे पनि सृजनाले कहिल्यै मर्दैन’ : तुलसी घिमिरे


राष्ट्रिय सङ्गीतकर्मी सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित कार्यक्रममा  थुप्रै कालजयी गीतहरुका सर्जक स्व. विनोद गौचनको शब्दरचना रहेको गीत अमृत भनि पिएको को भिडियो सार्वजनिक भएको छ l आयोजक संस्थाका सल्लाहकार सुमन श्रापितको सङ्गीत र केशव सुवेदीको स्वर रहेको सो आधुनिक गीतको भिडियो शनिबार पोखरामा आयोजित एक औपचारिक समारोहमा विमोचन गरिएको हो ।

विशिष्ट चलचित्र लेखक, निर्देशक तथा अभिनेता तुलसी घिमिरे र समाजसेवी एवम् संस्कृतिकर्मी विश्वमोहन गौचन‌ले सो म्युजिक भिडियो संयुक्त रुपमा विमोचन गर्नुभएको हो ‌। समारोहमा नेपाली गीत – सङ्गीत र चलचित्रको क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरि समारोहका विशिष्ट अतिथि तुलसी घिमिरेलाई संस्थाद्वारा सम्मान पनि गरिएको थियो। सम्मानित भए पश्चात् आफ्ना बिचार राख्दै घिमिरेले पोखराको‌ सुन्दरताको खुलेर प्रशंसा गर्दै पोखरा सर्जक र सृजना जन्माउने उर्वर भूमि‌ रहेको‌ बताउनुभयो‌ । सुटिङका क्रममा धेरैपटक पोखरा आएको भएपनि औपचारिक कार्यक्रममा पहिलोपटक दशबर्ष अघि सुमन श्रापितद्वारा सम्पादित पुस्तक पोखरामा फुलेका सुनाखरी को बिमोचनमा आएको उहाँले स्मरण गर्नुभयो l घिमिरेले पोखरा र पोखरेली सर्जकसँग पुन: साक्षात्कार हुन पाएकोमा खुशी प्रकट गर्दै फेरि फेरि पनि आउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

गीतकार स्व. बिनोद गौचनको‌ प्रसङ्ग जोड्दै सर्जक शरीरले मरेता पनि सृजनाले कहिल्यै नमर्ने उहाँले बताउनुभयो । समग्र गीत र भिडियोको बारेमा आफ्नो बिचार राख्दै उहाँले भन्नुभयो – ‘लेखन, सङ्गीत र गायनका साथै भिडियोको कन्सेप्ट, अभिनय, निर्देशन, सम्पादन, भिडियोग्राफी सबै हिसाबले उत्कृष्ट‌ बनेको छ ‌।’

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि विश्वमोहन गौचनले एड्स रोगप्रतिको‌ नकारात्मक सोच बदल्न गीत र डकुमेन्ट्री बनाएको स्मरण गर्दै गीत सङ्गीत सचेतना जगाउने बलियो माध्यम भएको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि नवराज बराल, गीतका सङ्गीतकार सुमन श्रापित, संस्थाका सल्लाहकार पद्मराज ढकाल, म्युजिक भिडियोका प्रमुख कलाकार, अलौकिक कवि देशभक्त सिंह कुँवर, जनवादी कलाकार काजी गाउँले, वरिष्ठ तवलाबादक श्यामलाल श्रेष्ठ र ब्यवसायी दशरथ सुनारले गीत सङ्गीत र म्युजिक भिडियोमा केन्द्रीत रहेर आ-आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसैगरी गीत र म्युजिक भिडियोका बारेमा साहित्यकार एवम् समिक्षक मदन भण्डारीले समीक्षा गर्नुभएको थियो । गीत र म्युजिक भिडियोसँग सम्बन्धित कलाकारहरुलाई‌ प्रसंशा पत्रद्वारा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष करन तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव बालकृष्ण वाग्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । गीतको भिडियोमा देशभक्त सिंह कुँवर, सम्झना थापा बानियाँ, काजी गाउँले, अभिलेख घिमिरे, सिम्रन बानियाँ, बेबिका बस्नेत, भूमिका थापा आदि कलाकारहरुको अभिनय रहेको छ । जसको निर्देशन र सम्पादन सञ्जु सुनारले र छायाङ्कन मुबारक‌ले गर्नुभएको हो ‌।