‘हाम्रो फूटबल नेपाल’ द्वारा महिला खेलाडीहरु सम्मानित

तुलसी गिरी ‘भावुक’


हाम्रो फूटबल नेपाल ले राजधानीमा एक कार्यक्रमको आयोजना गरी महिला फूटबल प्रशिक्षक भगवती थापा र फूटबल खेलाडी सरू लिम्बूलाई सम्मान गरेको छ l विगत ११ बर्षदेखि ए. पी. एफ. राष्ट्रिय महिला फूटबल टिमबाट राष्ट्रिय – अन्तर्राष्ट्रिय फूटबल खेल खेल्दै आएकी भगवती हाल ए. पी. एफ. मै कोचको रुपमा क्रियाशील रहेकी छिन् भने सरू विगत ५ बर्षदेखि ए. पी. एफ. राष्ट्रिय महिला फूटबल टिमबाट खेलिरहेकी कुशल खेलाडी हुन् l दुबै खेलाडीलाई हाम्रो फूटबल नेपाल का कार्यसमिति पदाधिकारीहरुले खादा र बुकेले सम्मान गर्दै फूटबल खेलसँग सम्बन्धित उपहारहरु प्रदान गरेका थिए l

सम्मानित भए पश्चात भगवती थापा र सरू लिम्बूले हाम्रो फूटबल नेपालप्रति आभार प्रकट गर्दै अप्रत्याशित रुपमा पाएको यो सम्मानले आफूहरूमा उर्जा थपेको प्रतिक्रिया दिएका छन् l

जिल्लास्तरीय र क्षेत्रीय कमिटीहरु बिस्तार गरी नेपाली फूटबल खेलको विकाश र बिस्तारमा यथासक्य महत्वपूर्ण कामहरु गर्ने र फुटबल खेलमा रुची भएकाहरुलाई अवसर दिँदै प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहित गर्ने संस्थाको उद्देश्य बमोजिम नै भगवती र सरूलाई सम्मान गरिएको कुरा संस्थाका अध्यक्ष कृष्ण गुरुङले बताएका छन् l यस प्रकारका गतिविधिलाई संस्थाले भविष्यमा पनि निरन्तरता दिने कुरा समेत अध्यक्ष गुरुङले जानकारी गराए l

कार्यक्रममा हाम्रो फूटबल नेपालका अध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्षद्वय सुरेश के. सी. र डी. बी. आले मगर, महासचिव कुमार गुरुङ, कोषाध्यक्ष विनोद लिम्बू, सह-कोषाध्यक्ष उत्तम बहादुर स्याङ्तान, सह-सचिव आशिष लामिछाने, कार्यसमिति सदस्यहरु कुशल गुरुङ र हिरा खाँडको उपस्थिति रहेको थियो l