ठूलो पर्दाका खलनायक म्युजिक भिडियो निर्देशनतिर

तुलसी गिरी ‘भावुक’


नेपाली कला क्षेत्रमा लामो इतिहास भएका बहुमुखी प्रतिभाशाली सर्जक/कलाकार भीमसेन टी लामाको सङ्गीत क्षेत्रमा पुनरागमन भएको छ l केही बर्षको अन्तरालपछि आफ्नै केही पुराना गीत रिमेक र केही नयाँगीत समेत रेकर्ड गरी उनले सङ्गीतकर्ममा पुन: सक्रियता देखाएका हुन् l प्राप्त जानकारी अनुसार भीमसेनले भरखरै हिराकाजी थापाको शब्द र सचिन सिंहको सङ्गीतमा जून जस्तो मुहार तिम्रो र वसन्त बित्याशी थापाको शब्द र अष्ट लामाको सङ्गीतमा खरको छानो बोलका गीत रेकर्ड गराएका छन् l

१७ बर्षको युवा उमेरमा रङ्गमञ्च प्रवेश गरेका काठमाण्डौ, महाराजगञ्जका भीमसेनले त्यो बेला धेरै व्यावसायिक नाटकहरुमा अभिनय गरे l  नेपाल टेलिभिजनको स्थापना नभएको, लामो समयको अन्तरालमा चलचित्र बन्ने गरेको र रेडियोको अतिरिक्त मनोरञ्जनको अरु कुनै साधन नभएको त्यो समयमा स्टेज नाटक महिनौसम्म टिकट शो मा चल्ने गर्दथे l ती सङ्घर्षका दिनहरु भीमसेनको मानषपटलमा अझै ताजै छन् l  

२०४१ सालमा विश्वबल्लभको शब्दरचना र शम्भुजीत बासकोटाको सङ्गीतमा मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो बोलको गीत रेकर्ड गरेर औपचारिक रुपमा गायन यात्रा आरम्भ गरेका भीमसेनलाई त्यो पहिलो गीतले नै सङ्गीत क्षेत्रमा स्थापित गरईदिएको थियो l ‘अहिलेसम्म त्यो गीतले मलाई चिनाईरहेको छ’ उनी प्रशन्न हुँदै भन्छन् l ‘मैले अहिलेसम्म रेडियो नेपालमा २ दर्जनजति र बाहिर १ दर्जनजति गरी लगभग ३ दर्जन गीत रेकर्ड गरेंहोला’ उनले अनुमान गर्दै भने l उनका गीत सम्झनुपर्दा शम्भुजीत बासकोटाको सङ्गीतमा नजाऊ साथी टाढा टाढा, किराँती जेबी राईको शब्द र शम्भुजीत बासकोटाकै सङ्गीतमा मायालुको पछ्यौरीले, विश्वबल्लभको रचना र मीरा राणाको सङ्गीतमा एउटी सुन्दरी म माथि मर्छे, विश्वबल्लभकै शब्द र मीरा राणाको सङ्गीतमा विरानो शहरमा म एक्लो, सावित्री राउतको शब्द र मदन सिंह नेपालीको सङ्गीतमा पहिलो भेटमै भयो हाम्रो चिनारी, मदन सिंहकै सङ्गीतमा तिम्रो यौवनको संघारमा पाइला टेक्न मन लाग्छ आदिको नाम लिन सकिन्छ l ‘त्यो बेलासम्म नेपाली बजारमा र्यागी गीत आएकै थिएन l पहिलोपटक २०४५ सालतिर शम्भुजीत बासकोटाको सङ्गीतमा मैले नै र्यागी गीत गाएको हुँ l यो कुरा अहिले धेरै मान्छेलाई याद पनि नहोला l नौलो शैली र स्वाद भएकोले त्यो गीतले गर्दा नै मेरो स्टेजको व्यस्तता निक्कै बढेको थियो’ भीमसेन भन्छन् l

गीत-सङ्गीतमा जमिरहेकै बेला २०५३ साल भदौमा भीमसेनको जीवनमा अप्रत्यासित रुपमा आश्चर्यलाग्दो एउटा सुखद् घटना घट्यो l ‘म त्यो बेला कपाल लामो पाल्थें l कपडा पनि अलि रफ नै लाएर हिँड्थें l गते चाहिं बिर्सिएँ, ०५३ सालको भदौ महिना पहिलो हप्तातिर हो जस्तो लाग्छ l सिम्फोनिक स्टुडियो छिर्दैथिएँ अचानक फिल्मको अफर आयो l मेरो फिजिकल बनावट र गेटअप देखेर सिमारेखाका निर्देशक स्व. किशोर राना दाइले चलचित्रको प्रमुख खलनायक भूमिकाको लागि मलाई अफर गर्नुभएको थियो l त्यसपछि फिल्ममा रस त भिज्यो नै काम पनि भ्याईनभ्याई भयो’ ती दिनहरुको सम्झना गर्दै उनी भन्छन् l भीमसेनले सीमारेखा लगायत बिषालु, अंशबण्डा, देश परदेश, नाशो, पराईघर, परदेशी कान्छा, कस्तो सम्झौता, हाउडे, चण्डाल, षड्यन्त्र, भानुभक्त लगायतका चलचित्रमा अभिनय गरेका छन् l

ठूलो पर्दाको अभिनय यात्रा सुरु भएसँगै बेफुर्सदी बन्दै गएका भीमसेनले त्यसपछि सङ्गीतमा समय दिन सकेनन् र केहीबर्ष गायन विधा ओझेलमा पर्यो l ‘अब भने सङ्गीत क्षेत्रलाई धेरै समय दिने सोचमा छु l मैले फिल्मी क्षेत्रमा बिताएको यतिका बर्षको अनुभव अब सङ्गीत क्षेत्रमा लगाउन चाहन्छु’ पछिल्लो समय म्युजिक भिडियोको निर्देशन समेत गर्न थालेका भीमसेनले आफ्ना भावी योजनाको बारेमा जानकारी गराए l