खल्तीमा ग्रीनकार्ड बोकेर रुपैयामै चित्त बुझाउँदै

-तुलसी गिरी ‘भावुक’


स्थाई बसोबासको अनुमती पाएर केहीबर्ष अघि नै सपरिवार अमेरिका पुगेका गायक/सङ्गीतकार नरेन्द्र प्यासी ६ महिना नेपाल र ६ महिना अमेरिकामा भेटिने एकमात्र सङ्गीतकर्मी हुन् l देश-विदेशका लाखौँ नेपाली सङ्गीतप्रेमीका ढुकढुकी बनेका प्यासी बजारमा अत्याधिक माग भईरहेकै बेला सपरिवार अमेरिकातिर लागेका भएपनि उनले आफ्ना श्रोतालाई कहिल्यै निराश बनाएनन् l अमेरिका पुगेको सुरुआती बर्षदेखि नै ६-६ महिनाको अन्तरमा नेपाल आएर सङ्गीत र गायनमा उनी व्यस्त रहँदै आएका छन् l उनी पुतलीसडक, अनामनगर, घट्टेकुलो र डिल्लीबजारतिरका सडक र स्टुडियोहरुमा भेटिँदा लाग्छ, उनी अमेरिका गएकै छैनन् l झुठो र रुखो कहिल्यै नबोल्ने, कसैको विरुद्ध पनि राजनीति नगर्ने/नजान्ने र कसैसँग वादविवाद नगर्ने शालीन स्वभावका प्यासी जति कुशल सर्जक/कलाकार हुन् त्यत्तिकै असल मान्छे पनि हुन् l

८ बर्षको उमेरमा तत्कालिन शिक्षा सहायक मन्त्री हिरालाल विश्वकर्माबाट पुरस्कार ग्रहण गर्दै प्यासी

खल्तीमा ग्रीनकार्ड बोकेर रुपैयामै किन रमाईरहेका छन् उनी ? के अमेरिकामा काम नपाएर ६-६ महिनामा उनी नेपाल आएका हुन् ? या नेपालमा बढी कमाई हुने भएकोले आएका हुन् ? अवश्य पनि होईन l नेपालमा भन्दा कैयौंगुणा बढी हुने कमाईलाई छाडेर सङ्गीतको मोहले उनलाई तानेको हो l सपरिवार अमेरिका पुगेपनि बर्षौं दु:ख गरेको क्षेत्र, माया गर्ने श्रोता, साथीभाइ, आफू हिंडेका बाटो, गल्लि र चिया पसललाई उनले बिर्सन नसकेका हुन् l जसको अगाडि डलर केही पनि होईन l   

हरियो डलरले न त नरेन्द्र प्यासीको सङ्गीतकर्मलाई मोड्न सक्यो न त लामो समयदेखिको निरन्तरतालाई ओझेलमा पार्यो l अहिलेपनि उनलाई कुरेर गीत रेकर्ड गर्ने गीतकार / सङ्गीतकारहरुको नेपालमा कुनै कमी छैन l

स्थाई बसोबासको अनुमती पाएर अमेरिका लगायतका देशमा गएका धेरै गायक/गायिकाहरु समयको बहावसँगै बिस्तारै गुमनाम भएका धेरै उदाहरणहरु छन् हामीसँग l लोकप्रियता र मागको चरम चुलीमा रहेकै बेला अमेरिका पुगेका कैयौं होनहार नेपाली गायक/गायिकाहरुलाई श्रोताले बिर्सिसकेका छन् l सङ्गीत सिर्जना र गायनलाई समानान्तर रुपमा अघि बढाईरहेका सर्जक/कलाकार प्यासीका के भूल भयो प्रिया, कसरी जुट्यौं कसरी फुट्यौं, तिमी बिनाको जीवन, जाम् क्यारे उडेर, तिम्रो दिलमा चोट लाग्दा, चोट बराबरी, एकैपल पनि बाँच्न, तिमीले दिने माया, फूलको दिलमा पनि, म त तिम्रो मान्छे बन्न सकिनँ, सुने खबर जीवनसाथी लगायतका धेरै गीत सदावहार छन् l

कोरोनाले गर्दा यसपटक लगभग १० महिनाजति नेपाल बसेका प्यासीले झन्डै ५ महिना लकडाउन, शटडाउन र जोरबिजोरको सामना गर्नुपरे पनि उनको सङ्गीत र स्वरमा गरी ४५ वटा गीत रेकर्ड भए l टिका भट्टराईको शब्दरचनामा एकल सङ्गीत र स्वरको एउटा एल्बम पूरा गरेका सर्जक/कलाकार प्यासीले गीतकारहरु देवीचरण भण्डारी, धन भट्टराई, सुमन घिमिरे, दुर्गा खतिवडा, तारा अधिकारी, कुमार मिश्र, देवी भण्डारी, दावा तामाङ, पुष्पा खनाल, मिलन लम्साल, सिन्धु राणा, केशवराज भण्डारी, निर्मल कुमार फुँयाल, लोकराज अधिकारी र प्रतिमा श्रेष्ठका गीतमा काम गरेका थिए भने सरोज कोईराला, शिखर सन्तोष, सन्तोष श्रेष्ठ, विपिन घिमिरे, ईश्वर मागिया, राजेश गुरुङ र आश्मी रिजालका सङ्गीतमा पनि उनले गीत गाए l

आफ्नो सङ्गीतमा गीतकार निर्मल कुमार फुँयालको एल्बमका लागि १२ वटा गीत लगायत प्रविन बेडवाल, यशोदा पराजुली, प्रमोद खरेल, निशान भट्टराई, मेनुका पौडेल, टिका भट्टराई नेपाल, ज्ञानु राणा र आफ्नै समेत स्वरमा गीत रेकर्ड भएको कुरा पनि प्यासीले जानकारी गराएका छन् l      

६ बर्षको दुधे उमेरमै २०३० सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका प्यासीले ८ बर्षको हुँदा नै २०३२ सालमा अन्तरस्कूल लोकगीत गायन प्रतियोगितामा तृत्तीय स्थान हासिल गरी तत्कालिन शिक्षा सहायक मन्त्री हिरालाल विश्वकर्माको हातबाट पुरस्कार ग्रहण गर्ने सौभाग्य प्राप्त गरेका थिए l यो उमेरमा यस प्रकारको सफलता हासिल गर्ने कलाकार विरलै हुने गर्दछन् l विदेश गएपछि कलाकार पलायन हुन्छन्, देशलाई माया मार्छन्, उतै हराउँछन् भन्नेहरुका लागि प्यासी अपवाद हुन् l विदेश जाँदैमा सबैको मन विदेशी हुँदैन भन्ने एउटा ज्वलन्त उदाहरण हुन् l