गीतकार डा. डीआरको प्रेमगीत ‘तिमी भित्रै’ को भिडियो सार्वजनिक

तुलसी गिरी ‘भावुक’


कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत तिमीभित्रै को भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’ को सङ्गीत तथा मनोजराज शिवाकोटीको स्वर रहेको यस गीतको भिडियो गीतकार उपाध्यायकै अफिसियल युट्युब च्यानल DR Music & Creations बाट आज रिलिज भएको हो । जीवन शाहीको निर्देशनमा निर्मित यस भिडियोमा प्रमोद श्रेष्ठको सिनेम्याटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ भने भिडियोमा मनोज ओली र सम्झना खत्रीले अभिनय गरेका छन् । गीत प्रेम समर्पण भावमा रहेको छ ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान, भरिया सम्बन्धी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् उहाँका ।

सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।