–तुलसी गिरी ‘भावुक’
फूटबल खेलमा दीर्घकालीन उद्देश्यका साथ अघि बढिरहेको संस्था हाम्रो फूटबल नेपाल ले ट्याट पोल फुटबल प्रतियोगिता का लागि छनोट भएका आफ्ना खेलाडीहरुलाई निलो आवरणमा सेतो किनारा भएको जर्सी हस्तान्तरण गरेको छ l पुष २३ गते नयाँ बानेश्वरमा आयोजित एक अनौपचारिक कार्यक्रममा संस्थाले खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरेको हो l प्राप्त जानकारी अनुसार उक्त प्रतियोगिता आगामी शनिबारदेखि ढोलाहिटी एक्टिभ फुट्सलमा सुरु हुने भएको छ भने खेलमा हाम्रो फूटबल नेपाल सहित विभिन्न २४ टिमको भीडन्त हुने छ l
समारोहमा हाम्रो फूटबल नेपाल का अध्यक्ष कृष्ण गुरुङले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन आग्रह गर्दै संस्थाले खेलाडीको मूल्याङ्कन र कदरमा कुनै कन्जुस्याईं नगर्ने र भविष्यमा राष्ट्रिय-अन्तर्राष्ट्रिय अवसरका लागि समेत हर सम्भव प्रयास गर्ने बताएका छन् l
![](https://emusicdiary.com/wp-content/uploads/2021/01/2.jpg)
जर्सी प्रदर्शन तथा हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्षद्वय सुरेश केसी र दान बहादुर आले, महासचिव कुमार गुरुङ, मानार्थ महासचिव पवन खत्री, सहसचिव आशिष लामिछाने एवं कार्यसमिति सदस्यहरु हिरा खाँड, कुशल गुरुङ, निरन राई र सुदिप दाहालको उपस्थिति रहेको थियो भने खेलाडीहरु श्रीकृष्ण श्रेष्ठ, संजीव तामाङ, विवश रञ्जित, अर्जुन रोक्का, किरण चौधरी, नोर्बु लामा, कुशल गुरुङ र प्रितम स्याङ्बो लामा उपस्थित थिए l
विगत केहीबर्ष अघिदेखि फुटबल खेलमा क्रियाशील रहँदै आएको हाम्रो फूटबल नेपाल जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत रुपमा दर्ता भएको संस्था हो l जिल्ला कमिटीहरु समेत गठन गरी संस्थालाई देशव्यापी रुपमा बिस्तार गर्ने, विशेषगरी पहाडी इलाकाका विद्यालयहरुमा फूटबल खेलको पूर्वाधार तयार गर्ने, राष्ट्रिय – अन्तर्राष्ट्रिय खेलका लागि खेलाडी उत्पादन गर्ने र आवश्यकता अनुसार विभिन्न क्लबहरुलाई खेलाडी उपलब्ध गराउनुका साथै संस्थाले खेलप्रेमी र खेलाडीबीच पुलको काम गर्ने उद्देश्य राखेको छ l
![](https://emusicdiary.com/wp-content/uploads/2022/03/kumar-rana-maruni-digital.jpg)