भिडभाडले कोरोनाको अर्को जोखिम निम्त्याउने चिन्ता

-डा. डीआर उपाध्याय


संसद् विघटनपछि दिनहुँजसो सडक आन्दोलन भईराखेका छन् । आन्दोलनमा भिडभाड हुने हुँदा कोरोनाको जोखिम पनि बढेर गएको छ । दलहरुका बैठक, भेला लगायतका गतिविधिहरु बढिरहेका छन् । कोरोना सङ्क्रमणको जोखिमप्रति सचेत बन्नुपर्ने आवश्यकता देखिएको छ । सचेत बन्न सकिएन भने फेरिपनि कोरोनाले अर्को महामारीको रूप नलेला भन्न सकिँदैन । तसर्थ सुरक्षित तरिकाबाट राजनीतिक गतिविधि गर्नेतर्फ दलहरुले ध्यान दिनुपर्छ ।

पछिल्लो समय कोरोनाको जोखिम केही कम भएको अनुमान छ । तर पूर्णरुपमा कोरोना नियन्त्रणमा आउन सकेको छैन । दुई पटकसम्म लकडाउन भयो । त्यति गर्दा पनि कोरोना नियन्त्रणमा आउन सकेन । सरकारले बाध्य भएर लकडाउन फुकुवा गरेको हो । व्यक्तिगत सुरक्षाको ख्याल गरेर मात्रै कार्यक्रम गर्न सरकारले बारम्बार अनुरोध गरिरहेको छ । सरकारी अनुरोधको बेवास्था कसैले पनि गर्नु हुँदैन । भिडभाड जस्ता गतिविधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्नेप्रति सबै चिन्तित छन् ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि समाजमा जनचेतना फैलाउन जरुरी भएको छ । जिम्मेवार व्यक्तिले नै हेलचेक्रयाईं गरेर कार्यक्रम गरिरहेका छन् । यो गलत हो । कोरोना नियन्त्रणमा सरोकारवाला सबैले हातेमालो गरेर जानुपर्छ । सङ्क्रमणको ख्यालै नगरी हुल बाँधेर कार्यकर्ता भेला गराउँदा जोखिम निम्तिन सक्छ । दलबाट भएका यस्ता गतिविधिलाई राम्रो मान्न सकिँदैन ।

राजनीतिक दलले कोरोना सङ्क्रमण रोक्न केन्द्रदेखि स्थानीय स्तरसम्म कार्यकर्ता परिचालन गरेर सचेतना कार्यक्रम चलाएको भए राम्रो हुन्थ्यो । यसो गरेको भए जनताको मन जित्न सकिन्थ्यो । तर कुनैपनि दलले यसलाई सदुपयोग गर्न सकेनन् । जनताका स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै दलहरुले गतिविधि बढाउनु पर्छ । आउने दिनमा यस्ता कार्यक्रम गर्दा होसियारी अपनाउनुपर्छ।