वियोगान्त भावमा ‘मन परेको मायाले’


डिलाइटेड नेपालले नयाँ कोसेली स्वरूप मन परेको मायाले  बोलको गीतको भिडियो सङ्गीत बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेका गायक सविन लिम्बुले गाएको यो गीत उनका हालसम्मका गीत भन्दा फरक शैलीको रहेको छ । यो गीत फिमेल भर्सनमा पनि रेकर्ड भएको छ l  जसमा लोकप्रिय गायिका एलिना चौहानले स्वर दिएकी छिन् l मेल-फिमेल दुबै भर्सनका भिडियोमा गायक / गायिका रुवयंकै अभिनय रहेको छ ।

प्रेमवियोगमा आधारित यस गीतले मानवीय जीवनका भोगाई र अनुभूतिका यथार्थ भावहरु बोलेको कुरा गीतका रचनाकार डीपी दाहाल  ‘परिश्रमी’ ले बताएका छन् । लाल बहादुर सुब्बाको सङ्गीत रहेको यस गीतमा सविन लिम्बुको सङ्गीत संयोजन रहेको छ l  ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्ज्वल घिमिरेले गरेका हुन् । भिडियो डिलाईटेड नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

कुशल गीतकारको पहिचान स्थापित गरेका सर्जक ‘परिश्रमी’का अत्यन्तै मर्मस्पर्शी शब्द रहेका गीतहरु छन् । उनले विगतमा शम्भुजीत बासकोटाको सङ्गीतमा तिर्सना, दीपक शर्माको सङ्गीतमा रसिलो, लक्ष्मण शेषको सङ्गीतमा संसार जितेर, पुरुषोत्तम सुवेदीको सङ्गीतमा मायाको घरबार, मनोहर सुनामको सङ्गीतमा मायाको क्या राम्रो आँखा, राजेश कैदीको सङ्गीतमा म रोएको पल र  लाल बहादुर सुब्बाको सङ्गीतमा झरेको जीवन शीर्षकका गीति एल्बम बजारमा ल्याईसकेका छन् ।