अग्रज गीतकार ‘नन्दन’ रू. १ लाख ५१ हजार सहित सम्मानित

-तुलसी गिरी ‘भावुक’


विशिष्ट गीतकार प्रेम विनोद नन्दन नगद रू. १ लाख ५१ हजार र ताम्रपत्र सहित अमर भावना गीतकार राष्ट्रिय सम्मान २०७६ बाट सम्मानित भएका छन् । गीतकार सङ्घ नेपालको आयोजना तथा नारायणी कला मन्दिर चितवनको संयोजनमा पुष ४ गते चितवनमा सम्पन्न कार्यक्रममा अग्रज गीतकार नन्दन सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गीतकार नन्दनलाई सम्मान अर्पण गरेका थिए ।

तस्बीर : musickhabar.com

बि. सं. २०११ सालदेखि नै गीत लेखनमा क्रियाशील रहँदै आएका नन्दनले गीत, गजल, कविता लगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । सम्मान ग्रहण गरे पश्चात गीतकार नन्दनले यस सम्मानले थप उर्जा र उत्साह थपेको बताए । ‘जीवनमा देखेका, भोगेका विषयलाई गीतमार्फत् प्रस्तुत गर्ने जमर्का गरेको थिएँ । यति ठूलो सम्मान पाउँला भन्ने कहिल्यै सोचेको थिइनँ’ नन्दनले भने  । ८५ वर्षीय नन्दनका ६ वटा गीतसङ्ग्रह प्रकाशन भएका छन् भने उनका गीत कान्छी, सन्तान, मोहनी, अवला, मानिस, कर्जा लगायतका नेपाली चलचित्रमा पनि सुन्न सकिन्छ ।

तस्बीर : musickhabar.com

यस वर्षको वर्षगीत पुरस्कार महेश आचार्यको गीत थाहा छैन जिन्दगीमा ले चुम्न सफल भएको छ । आचार्य ५७ हजार नगद राशि र प्रमाणपत्र सहित वर्षगीत पुरस्कार २०७६ प्राप्त गर्न सफल भएका छन् । बर्षगीत पुरस्कारका लागि टप टेनमा गीतकारहरु अरुण तिवारीको धेरैले धेरै कथा, किरण टि लिम्बूको अलिअलि हँसाउँदै, डा. डीआर उपाध्यायको आफ्नै छातीबाट, दिनेश सुवेदीको ए हेरन कान्छी, प्रकाश दुमी राईको एकजुनी त हो, भूपेन्द्र महतको मेरो सिरानीमै भिजेका, महेश आचार्यको थाहा छैन जिन्दगीमा, युवराज अधिकारीको आँशु आफैं पिउनू, रमेश दाहालको पूर्वको वादल उड्यो र एच. के. धितालको यता फाट्छ यतै टाल्छु बोलका गीत छनोट भएका थिए l   वर्ष गीत पुरस्कार छनोट समितिमा गीतकार सुरेन्द्र राना र सुवासचन्द्र ढुंगेल रहेको कुरा जानकारी गराईएको छ  ।

तस्बीर : musickhabar.com

त्यसैगरी डायस्पोरा गीतकार सम्मान यसपटक बेल्जियमलाई कर्मथलो बनाईरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ । भिखारी कार्यक्रममा उपस्थित हुन नसकेका कारण उनको प्रतिनिधित्व गर्दै सङ्गीत संयोजक प्रदीप श्रेष्ठले सो सम्मान ग्रहण गरेका थिए । गीतकार भिखारीलाई नगद रू. १५ हजार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले कला, संस्कृतिको जगेर्नामा गीतकारहरूको भूमिका अतुलनीय रहेको बताए । राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरूमा गीत, सङ्गीतले ठूलो सहयोग गरेको भन्दै उनले राज्यले यस क्षेत्रको विकासका लागि आवश्यक काम गर्दै जाने स्पष्ट पारे । ‘देशमा धेरै परिवर्तनहरू आए । अहिले देशमा गणतन्त्र नै आइसक्यो । तर जनताले यसको अनुभूति गर्न पाएका छैनन्’ उनले भने ।

तस्बीर : musickhabar.com

सङ्घका अध्यक्ष चूडामणि देवकोटाले नेपाली गीतकारका उत्कृष्ट रचनाहरूकै कारण भारतीय गीत, सङ्गीतको प्रभाव कम हुँदै गएको बताए । थप प्रोत्साहन गर्ने उद्देश्यले सङ्घले गीतकारहरूलाई सम्मान गर्दै आएको देवकोटाले बताए । गीतकार राजेन्द्र थापाले नन्दन जस्ता अग्रज कलाकारको पद पछ्याउँदै नेपाली सङ्गीत क्षेत्र अघि बढिरहेको भन्दै राज्यले पनि कलाकारको सम्मान गर्नुपर्ने बताए ।
गीतकार सङ्घ नेपालका अध्यक्ष चूडामणि देवकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नारायणी कला मन्दिरका अध्यक्ष उद्धव जोशी, पूर्व अध्यक्षहरु, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष, वरिष्ठ गीतकार राजेन्द्र थापा, अमर भावना गीत पुरस्कार राशिका दाता अमर वान्तु राई, सङ्घका पूर्व अध्यक्ष योगेन्द्रमणि दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका लागि काठमाडौंदेखि गएका सम्पूर्ण गीतकारहरुलाई नारायणी कला मन्दिरका पदाधिकारीहरुले रात्रीभोजको आयोजना गर्दै साङ्गगीतिक स्वागत गरेका थिए । कार्यक्रम सङ्घकी सचिव सुशिला पौडेलले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा सङ्गीतकार सुनिल मास्केले गीतकार सङ्घलाई १ लाख १ हजार १ सय ११ रुपैया सहयोग हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय स्रष्टा सम्मानबाट यसअघि २०६९ सालमा रत्नशम्शेर थापा, २०७० सालमा किरण खरेल, २०७१ सालमा यादव खरेल, २०७२ सालमा भैरवनाथ रिमाल ‘कदम’, २०७३ सालमा राजेन्द्र थापा, २०७४ सालमा कालीप्रसाद रिजाल र २०७५ सालमा नगेन्द्र थापा सम्मानित भएका थिए ।