संसद विघटनको पुनरावृत्ति

-डा. डीआर उपाध्याय


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदमा झन्डै दुईतिहाई बहुमत प्राप्त दल हो । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आज संसद विघटन गरे । यो कार्यले संविधानको धज्जी उडेको छ । यो उनको अहंकारी कदम हो । यो कदमले लामो समयदेखिको नेपाली जनताको त्याग, तपस्या र बलिदानमा कुठाराघात भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषित मुलुक पुन: एकपटक राजनीतिक अनिश्चय र अस्थिरतातर्फ धकेलिएको छ । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि दुई तिहाई बहुमतको सरकार रहेकै बखत संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । अहिले त्यही पुनरावृत्ति भएको छ ।

विगतमा पनि यही कारणले अस्थिर राजनीति बन्यो । सरकारमा जाने र गिराउने खेल धेरै भएका थिए । अब आउँदा दिनमा पनि त्यो अवस्था नआउला भन्न सकिन्न । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन हुन नसक्दा यो कदम चालिएको अनुमान गर्न सकिन्छ । नेपाली कांग्रेस त्यसबेला चौहत्तरे र छत्तीसे समूहमा बाँडिएका थिए । त्यसबेला पनि काँग्रेसमा ठूलो किचलो थियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम पारित नहुँदा मध्यावधि निर्वाचन घोषणा गराएका थिए । अहिले पनि सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवादलाई व्यवस्थापन गर्न नसकेको झोकमा मध्यावधि निर्वाचनको घोषणा गरे । अहिले यो कदमको देशका विभिन्न सहरमा विरोध प्रदर्शन भैरहेको छ । अब आगामी दिन के कसरी अघि बढ्छन् त्यो भने हेर्न बाँकी छ । अब मुलुकमा संवैधानिक संकट र राजनीतिक संकट आउने विभिन्न जानाकारहरुले बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसले समेत यो कदमको कडा विरोध र आपत्ती जनाएको छ । अन्य साना पार्टीहरुले पनि विरोध जनाएका छन् ।