गोकुल राउतले ल्याए ‘है सानु दुई सानु’

 -राजु बोहरा


है सानु दुई सानु बोलको गीतको भिडियो लोकार्पण भएको छ । उक्त गीत गोकुल राउतको हो । विगत निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत सङ्गीतको क्षेत्रमा क्रियाशील गायक तथा सर्जक गोकुल राउतको है सानु दुई सानु बोलको गीत लोकार्पण कार्यक्रम घमेश दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गायक भोजराज काफ्ले, इन्दिरा गुरुङ्ग, गीता देबी, सीता थापा, सामाजिक अभियन्ता पुण्य गौतम, लगायत काँठ क्षेत्रका वरिष्ट कलाकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

है सानु दुई सानु बोलको गीतको लोकार्पण कार्यक्रममा पछिल्लो समय कलाकारहरुका सिर्जना प्रयोग गरेर प्रत्यक्ष दोहोरीबाट लाभ लिने युट्युब च्यानललाई सिस्टममा आएर, प्रयोग भएका गीतका सर्जकलाई पनि नमार्न अनुरोध गरिएको छ । उक्त प्रसङ्गमा कार्यक्रमका प्रमुख अतिथि घमेश दुलालले  आफू राष्ट्रिय सङ्गीतकर्मी सङ्घको संस्थापक भैरहँदा जो कोहीले सम्पूर्ण कलाकारहरुको हकहितका निमित्त आवाज बुलन्द गर्छ, उस्लाई पूर्ण सहयोग गर्ने बताएका थिए । यता यसै कार्यक्रमका अध्यक्ष गोकुल राउतले आफ्नो सिर्जना प्रयोग गरेर मोटाउने र सम्बन्धित कलाकारलाई बेवास्ता गर्ने च्यानलप्रति आक्रोश ब्यक्त गरेका छन् ।

लोकार्पण भएको गीतमा गोकुल राउत र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने सङ्गीत संयोजन तथा लय / शब्द गायक स्वयम् गोकुल राउतको रहेको छन् । प्रस्तुत गीतको भिडियोमा सन्जिब ठकुरी र प्रकृति खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियो सन्जिब ठकुरीले निर्देशन गरेका हुन् भने छायाङ्कन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् । लोकार्पण कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुले गोकुल राउतको यो पछिल्लो साङ्गीतिक प्रतुतिको लागि सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम लोकप्रिय गायिका तथा संचारकर्मी शोभा त्रिपाठीले संचालन गरेकी थिइन् ।