विश्व कीर्तिमानी गीत ‘वाचा गरी’ को भिडियो सार्वजनिक

तुलसी गिरी ‘भावुक’


कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत वाचा गरी को लिरिकल भिडियो सार्वजनिक भएको छ । यो गीत केही समय अगाडि रिलिज भएको गीतकार उपाध्यायको एकल रचनाको एल्बम घरोहर बाट लिईएको हो । सागर अधिकारी ‘शरद’ को सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा सागर अधिकारी ‘शरद’ र सपना अधिकारीले स्वर दिएका छन् ।

एक अर्काप्रतिको समर्पण भाव व्यक्त भएको यस गीतमा जुन विश्वाश र प्रेमले एक गराएको थियो त्यो विश्वाश र प्रेम अविरल अनि अटुट रहेका भावनाहरु व्यक्त भएका छन् । शब्दैपिच्छे फरक फरक आवाजमा रेकर्ड भएको यो विश्व कीर्तिमानी गीत सुरुदेखि अन्त्यसम्म नै एउटा शब्द मेल र अर्को शब्द फिमेल गरी रेकर्ड गरिएको छ । भिडियो गीतकार उपाध्यायको आफ्नै युट्युब च्यानल  DR Music & Creations बाट सार्वजनिक भएको हो ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान, भरिया सम्बन्धी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् उहाँका ।

सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।