राज, राजेश र ॠषिको सहकार्यमा ‘थियौ तिमी दिलमा’


नेपाली सुगम सङ्गीतका लोकप्रिय गायक राज सिग्देलको स्वरमा थियौ तिमी दिलमा बोलको गजल हालै सार्वजनिक गरिएको छ । गजलकार डा. ऋषि बस्ताकोटीको रचना र राजेश थापाको सङ्गीत रहेको उक्त गजलमा रिदम कँडेलले सङ्गीत संयोजन गरेका छन् । काठमाडौंको ए-प्लस स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ कुशल थापाले गरेका हुन् भने मिक्सिङ / माष्टरिङ चाहिं साजन साहले गरेका छन् ।

द टच कृयसनले बजारमा ल्याएको यस गजलको भिडियोमा गायक राज सिग्देलकै अभिनय देख्न सकिन्छ । भिडियो प्रवेश राईको छायाङ्कन, सुवास शाह र अल्बर्ट बस्तकोटीको सम्पादनमा तयार पारिएको हो ।  हेर्ने गीतको प्रभाव बढिरहेको समयमा आफूहरूले गम्भीर प्रकृतिको सुन्ने गीत/गजल ल्याएको र आफ्ना पुराना सिर्जना जस्तै यो गजल पनि स्रोता- दर्शकले मन पराइदिनेमा आफू आशावादी रहेको विश्वास व्यक्त गर्छन् गायक राज सिग्देल । राज सिग्देलको स्वरमा सजिएका ऊ जितेर गई या हारेर गई  लगायतका गीतहरू निकै लोकप्रिय छन् ।

दुई दशक लामो साङ्गीतिक जीवनमा बिभिन्न साङ्गीतिक प्रयोग गर्दै आएका सङ्गीतकार राजेश थापाले यो गजलमा श्रुतिमिठास आउने गरी केही भिन्न प्रयोगको प्रयास गरेको कुरा बताएका छन् । राजेशले सङ्गीत गरेका हुरीमा दियो जलेको देख्छु लगायतका लोकप्रिय गीतहरू साङ्गीतिक बजारमा छन् ।

गजल लेखनमा करीव साँढे दुई दशकभन्दा लामो इतिहास बनाएका साहित्यकार डा. ऋषि बस्तकोटीले यो गजलमा प्रेम मनोविज्ञानको भित्री तहमा पुगेर वियोगान्त कथालाई सुललित ढङ्गले प्रस्तुत गरेका छन् । डा. बस्ताकोटीका यसअघि ज्वालाका रापहरू { गजलसङ्ग्रह } र गजल स्पर्श { गजल एल्बम } प्रकाशित छन् भने अन्य फुटकर गीत गज़लहरू पनि नेपालका प्रतिष्ठित सङ्गीतकार र गायक गायिकाहरूसँगको सहकार्यमा नियमित रुपमा बजारमा आएका छन् । पेशाले वातावरणविज्ञ डा. बस्ताकोटी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा समेत सक्रीय छन् ।

ॠषि, राज, राजेश र रिदमको सहकार्यमा आएको थियौ तिमी दिलमा गजलले पनि स्रोताहरुको मन जित्ने विस्वास गरिएको छ । यो साङ्गीतिक गजलका स्रस्टा एवं प्रस्तोताहरूले यो गजलको भिडियो एकपटक हेरिदिन अनुरोध गरेका छन् ।