भ्रष्टाचार विरुद्ध कविता प्रतियोगिता, विजेताले एक हजार डलर पाउने


हेम सरिता पाठक फाउण्डेशन, अमेरिकाले विश्वव्यापी रुपमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको खुल्ला अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट पच्चीस कविताहरुको सूची सार्वजनिक गरिएको छ । प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले एक विज्ञप्ति प्रकाशित गरी दोस्रो तथा अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोटमा परेका पच्चीस कविताहरुको सूची सार्वजनिक गर्नुभएको हो ।

छ्नोट गरिएका पच्चीस कविताहरुमा जूनको उज्यालोमा अडिएको समय, खोक्रो परिवर्तन, भ्रष्टाचारको कुहिरोले ढाकेको देश, भ्रष्टाचारमुक्त न्यायालय, पर्खाइ, भ्रष्टाचारको बाटो, उज्यालोको खोजी, उसका प्रश्नहरु, सफा हातको भूगोल, स्वार्थ, तिमी कहिले घाम बन्छौ ?, देशको खबर, भ्रष्टाचारीको साबिती बयान, बालाई चिट्ठी, तरकारी, सर्पदङ्स, जुकाहरु, नक्सा, माफीनामा, हातहरु, बुढो सिमल,ऐना किनेको दिन, फाँसी दिने कानुन, भ्रष्टाचार विरुद्ध पर्खाल पो रहेछ रहेका छन् ।

प्रतियोगिताका संयोजक लेकालीद्वारा जारी प्रेस विज्ञप्ती अनुसार दोस्रो चरणमा छनोट गरिएका उत्कृष्ट पच्चीस कविताहरु कविबाटै प्रत्यक्ष वाचन गराउने र एक सर्वोत्कृष्ट कविलाई अमेरिकी एक हजार डलर र सम्मान – पत्र प्रदान गरिने छ । भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको कविता प्रतियोगिताको लागि रचना आह्वान गरिएको र यस्तो प्रतियोगितालाई निरन्तरता दिइने सो संस्थाका संरक्षक  हेम पाठकले बताउनु भएको छ । यसैगरी संस्थाका अध्यक्ष जेनी पाठकले प्रतियोगिताका लागि प्राप्त सबै कविताहरु उत्कृष्ट रहेको र सोमध्ये पनि निर्णायक समितिले सिफारिस गरेका उत्कृष्ट पच्चीस कविताहरुको पुस्तक प्रकाशन गरिने बताउनु भएको छ ।