भाँडाकुटी खेल्ने उमेरमा चढ्यो जवानी

तुलसी गिरी ‘भावुक’


वरिष्ठ नाटक, टेलि चलचित्र  तथा वृत्तचित्र लेखक / निर्देशक प्रभाकरदेव शर्माको शब्दरचनामा रहेको गीत म पागल सरी को भिडियो सार्वजनिक भएको छ l गीतमा शशी विक्रम थापाको सङ्गीत एवं सङ्गीत संयोजन रहेको छ भने गायन विधाको लोकप्रिय भारतीय रियालिटी शो सारेगमपका फर्ष्ट रनरअप प्रितम आचार्य र शशी विक्रम थापाले स्वर दिएका छन् l जवान र बाल दुई स्वरमा रेकर्ड भएको यस गीतको भिडियोमा पनि जवान र बाल छुट्टाछुट्टै प्रेमी जोडीलाई देखाईएको छ l रुपेश उप्रेतीको कोरियोग्राफी / निर्देशन तथा योगेन थापाको सम्पादनमा तयार भएको यो भिडियोमा आयुष रिजाल, मुकेश अधिकारी, निश्चल अधिकारी, गोमा बास्कोटा र लिजा बास्तोलाले अभिनय गरेका छन् l शब्द, सङ्गीत र स्वरको दृष्टिकोणबाट गीत अत्यन्तै कर्णप्रिय बनेको छ भने प्राविधिक र अभिनय दुबै पक्षबाट भिडियो पनि उत्कृष्ट लाग्छ l प्रभाकरदेव शर्मा पछिल्लो समय गीत लेखनमा पनि क्रियाशील देखिँदै आएका छन् l

भिडियोमा एक प्रेमी जोडीको दुर्घटनामा देहान्त भएपछि दुबैको पुनर्जन्म भएको देखाईएको छ l तथापि दुर्घटनाको दृश्यमा ठोक्किएको ‘इफेक्ट’ नहुँदा दुर्घटनाको भयंकरता अनुभूति हुँदैन l पुनर्जन्म भएको बालकले भाँडाकुटी खेल्ने उमेरमै ‘म पागलसरि तिमीलाई माया गरिरहन्छु l नशालु हेराईले घायल भएँ l तिम्रो बोलीले पागल भएँ l न दिनको भोक न रातको निद छ’ भन्दै तन्नेरी भाव व्यक्त गर्दा भने भिडियो बुझ्न अलि गाह्रो हुन्छ l भिडियो फगत मनोरञ्जन मात्र पनि होईन l यो समाजका लागि सन्देशवाहक पनि हो l भिडियोमा बालबालिकाले मोहित भएर एक-अर्कालाई हेरेको, यादमा छटपटाएको, आलिङ्गन आदिका यस्ता अस्वाभाविक दृश्यहरु छन् जो मजाकको हद जस्तो लाग्छन् l  

कला / साहित्यलाई समाजको ऐना पनि भनिन्छ l यो भिडियोले कस्तो समाजको परिकल्पना गरेको हो र कुन कुरा स्थापित गर्न खोजेको हो बुझ्न कठिन छ l यो परिकल्पना प्रकृति विरुद्ध पनि छ l एउटा स्वाभाविक र यथार्थपरक गीति साहित्यलाई भिडियोले कसरी अस्वाभाविक र उट्पट्याङ् बनाउँछ भन्ने बलियो उदाहरण पनि हो यो l

विकृतिका धेरै पाटा छन् l अश्लिलता मात्र विकृति होईन l साहित्य कि त समाजको ऐना हुनुपर्छ कि साहित्यले समाजलाई मार्गनिर्देश गर्नुपर्छ l के प्रेमी जोडीको पुनर्जन्म भयो भने बाल उमेरमै यौवनको प्यास जाग्छ र ? यही उमेरका बालबालिकाले यो भिडियो हेरेर के बुझ्लान् ? शब्दको भाव अनुसार यो गीत प्रितमको स्वरमा रेकर्ड हुनु नै गलत हो l यो प्रितमको स्वरको पनि घोर दुरुपयोग हो l विकृति यहीँबाट सुरु भएको छ l के अब राजेशपायल राई, रामकृष्ण ढकाल, प्रमोद खरेल, शिव परियार र अञ्जु पन्तहरुले “हामी धेरै साना छौ” , ‘मामा आए घोडा’ गाउने हो ?