छोटो समयको अन्तरालमा दुई भिडियो सार्वजनिक


-तुलसी गिरी ‘भावुक’

सर्जक/कलाकार राजेशमान केसीले छोटो समयको अन्तरालमा दुई गीतको भिडियो सार्वजनिक गरेका छन् l कलाकार केसीले गणेश प्रसाद श्रेष्ठको सङ्गीत तथा आफ्नै शब्दरचना र स्वरमा कृष्ण भजन साथै आफ्नै शब्द, सङ्गीत र स्वरमा सन्देशमूलक भावको गीत नबिताऊ समय गरी दुई गीतको भिडियो सार्वजनिक गरेका हुन् l

जय प्राप्ति म्युजिक नामक युट्युब च्यानलबाट रिलिज भएका दुबै भिडियो जयराम भट्टको निर्देशनमा तयार भएका हुन् भने दुबै भिडियोमा रोशन धितालको सम्पादन र मरुभूमि नारायणको सिनेम्याटोग्राफी रहेको छ l भिडियोमा राजेशमान स्वयम्को साथमा परमेश्वर केसी, प्राप्ति भट्ट, प्रशान्त भट्ट, उत्तम दाहाल, जयराम भट्ट र सुशीला कुमालले अभिनय गरेका छन् l  

रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी राष्ट्रिय, आधुनिक, भजन र नेवारी समेत गरी करीव एक दर्जन गीत रेकर्ड गरईसकेका गायक के.सी.का केही गीतहरु नेपाल टेलिभिजनबाट समेत प्रसारण भएका  छन् । कार्यालयगत ब्यस्तताका कारण युवा उमेरमा आफूले गीत सङ्गीतमा खासै निरन्तरता दिन नसके पनि हाल जागीरे जीवनबाट निवृत्त भइसकेकाले अब बाँकी जीवन गीत – सङ्गीतमै लगाउने उनले सङ्कल्प गरेका छन् ।

बिभिन्न साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुँदा र सोही क्रममा स्टेजहरुमा गीत प्रस्तुत गर्दा दर्शकहरुबाट राम्रो रेस्पोन्स आउने गरेको र त्यसबाट आफू निकै उत्साहित भएको गायक के.सी.को भनाई रहेको छ । भनिन्छ, सिर्जनशीलतालाई उमेरले छेक्दैन । उमेरले ६० टेकिसकेका गायक के.सी. कलाकारका साथसाथै एक कुशल लेखक पनि हुन् । समसामयिक सन्दर्भलाई लिएर लेखिएका उनका थुप्रै लेख – रचनाहरु बिभिन्न नेपाली तथा अंग्रेजी राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् । झण्डै २५० वटा बिभिन्न विषयबस्तुका लेख – रचनाहरु आफूले लेखिसकेको उनले जानकारी गराए । त्यसो त उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) मा सेवारत रहँदा पनि रेडियो नेपाल र रेडियो सगरमाथाबाट “विज्ञान प्रविधि” रेडियो कार्यक्रम सञ्चालन गर्दथे । त्यतिखेर सो कार्यक्रम निकै लोकप्रिय समेत रहेको थियो । यसका साथै गायक के. सी. केही समय अघिसम्म “हिमालय टाइम्स” नेपाली राष्ट्रिय दैनिक पत्रिकाको नियमित स्तम्भकार समेत रहेका थिए  ।