तुलसी क्षेत्रीको ‘झिलिमिली तिहार’


पोखरा । लोकप्रिय गायिका तुलसी क्षेत्रीको देउसी भैलो गीत झिलमिली तिहार जि.सी.इन्टरटेन्मेट युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । सबैखाले गीतमा उत्तिकै सक्रियताका साथ दमदार ढङ्गले कलम‌ चलाउँदै  आएका लोकप्रिय गीतकार सुमन श्रापितको‌ शब्द रचना रहेको यस गीतमा धुन सम्राट बिबि अनुरागीको सङ्गीत/सङ्गीत संयोजन तथा तुलसी क्षेत्री र बिबि अनुरागीको स्वर रहेको छ । गीतमा आजभोलि र बिगतमा मनाइने तिहार र तिहारमा गाइने देउसी भैलो गीतको शैलीलाई तुलनात्मक रुपले उतार्न खोजिएको छ । सामान्यतया लेखिने देउसी भैलो गीत भन्दा केही फरक रचनामा त्यस्तै उत्कृष्ट सङ्गीत र दमदार स्वरले गीत निकै उत्कृष्ट बनेको छ । प्रिज्म डिजिटल, काठमाडौं र स्टार डिजिटल, पोखरामा रेकर्ड भएको यस गीतको मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । गीतको‌ जुन मर्म छ त्यो‌ मर्मलाई उत्तिकै न्याय गर्नेगरी भिडियो बनाइदिएको‌मा खुशी ब्यक्त गर्दै गायिका तुलसी क्षेत्रीले भिडियो युनिटलाई धन्यवाद ब्यक्त गरेकी छिन् ।

यस भिडियोका निर्देशक बिबि अनुरागी र कोरियोग्राफर होम गुरुङ हुन् भने छायाङ्कन गणेश सापकोटाले गरेका हुन् । भिडियोमा यस गीतका गीतकार, सङ्गीतकार, गायक र गायिकासङ्गै अधिकांश पोखरेली सङ्गीतकर्मी, ब्यवसायी र समाजसेवीहरुका साथै मुख्य भूमिकामा मोडेल संगीता खाती, सुमिन श्रेष्ठ र नितु गुरुङको अभिनय देख्न सकिन्छ । सुन्दर नगरी पोखरामा नै छायाङ्कन गरिएको यस म्युजिक भिडियोको  इडिटिङ र कलरिङ सुवास अम्गाईले गरेका हुन् ।

लामो समयदेखि लोक गायन र अभिनय मार्फत छुट्टै पहिचान बनाएकी तुलसी क्षेत्री गीत सङ्गीत र सिने जगतको गर्विलो नाम हो । समय सन्दर्भ अनुसारका गीत सङ्गीत पस्किरहने, सरल र मिजासिलो स्वभावकी तुलसीको मायाप्रेम, बिछोड, बियोगसङ्गै तीज, दशैं तिहार विशेष थुप्रै गीतहरु पनि बजारमा आएका छन् । यो गीतले उनलाई थप पहिचान दिनेमा उनी विश्वस्त रहेकी छिन् ।