गीतकार अमरको २७ औं कृति ‘दर्पण’ एल्बम सार्वजनिक


कोरोनाले गर्दा संसारभरका मान्छेहरूको जनजीवन कष्टकर बनेपनि मान्छेहरूलाई बाँच्नु छ । समयलाई रोकेर सकिन्न ।  आफ्नो काम सबैले गर्नु नै छ । तसर्थ यस्तो उस्तो भन्ने हुँदैन । जिन्दगी जसरी हुन्छ चलाउनु पर्ने हुन्छ । यस्तो समयमा नेपाली सङ्गीत क्षेत्रलाई जोगाईराख्नको निमित्त ओएसनेपालको आयोजनामा नेपाली साङ्गीतिक क्षेत्रमा एउटा नयाँ कोसेली भर्खरै थपिएको छ ।

चर्चित गायक/गायिकाहरूको स्वरमा सुसज्जित, दर्शक एवं स्रोताहरूबाट धेरै मन पराइएका सुपरहिट गीत समेत रहेको मेलिना राईको स्वरमा रहेको म भन्दा-३ अर्थात् आँसु झारी पुछिदिने बोलको गीतका साथै सुरेन्द्र महर्जन ‘अमर’, राम कार्की, सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, बिज्ञान लामा लगायतको स्वर रहेको गीति एल्बम दर्पण सार्वजनिक भएको छ । कवि, गीतकार, कथाकार तथा उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’को सत्ताइसौं कृतिको रुपमा यो एल्बम एक समारोहका बीच सामाजिक दूरी कायम गर्दै सार्वजनिक गरिएको हो ।

ओएस नेपालको तर्फबाट विवेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त एल्बममा एप्स टि. भि. नेपाल अफिसिएल मिडिया पार्टनर रहेको छ भने सह-मिडिया पार्टनर गोर्खा लाइभ डट कम रहेको छ । कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन अमरको कृतिमाथि म्युजिक डायरी मासिक तथा emusicdiary.com का प्रधान सम्पादक तुलसी गिरी ‘भावुक’, एप्स टि. भी नेपालका प्रवन्ध निर्देशक राजु श्रेष्ठ, भिडियो निर्देशक तथा चलचित्र निर्देशक रोशन कुमार, एबिसि टेलिभिजनका कविर बुढा, पत्रकार पासाङ तामाङ आदिले आ-आफ्नो विचार राखेका थिए । गीतमा राम कार्की र पुष्कर सुनुवारको म्युजिक एरेन्ज र सङ्गीत रहेको छ भने कार्यक्रम गोर्खा लाइभ डटकमका सम्पादक दीपक गुरुङले सञ्चालन गरेका थिए ।