सार्थक कामहरु गर्दै ‘सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान’


लोकबाजाबारे पाठ्यपुस्तक तयार पारिने
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले मौलिक बाजासम्बन्धी पाठ्यपुस्तक तयार पारिरहेको कुरा प्रज्ञा-प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले जानकारी गराएका छन् । प्राज्ञ राईका अनुसार सो पाठ्यपुस्तक विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि उपयोगी हुने कुरा बताईएको छ । सो पुस्तक नेपालमा नेपाली लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्नका लागि उपयोगी हुनुका साथै  रोजगारी सिर्जना गर्नमा समेत सहयोगी हुने जनाईएको छ । नेपालमा परम्परागत तथा मौलिक लोकबाजा सम्बन्धी अनुसन्धानात्मक पुस्तकहरु त प्रकाशनमा आए तर कुनै आधिकारिक पाठ्यसामग्री भने तयार हुन सकेका थिएनन् । अब भने यस्तो पाठ्यसामग्री तयार हुने भएको हो ।

नेपालमा परम्परागत मौलिक लोकबाजाप्रति युवापुस्ताको अभिरुचि बढिरहेको तर यस सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यवहारिक ज्ञान दिने आधिकारिक पाठ्य सामग्रीको अभाव महसुस गरी यही वर्षभित्र सो सम्बन्धी पाठ्यपुस्तक प्रकाशन गर्ने योजना रहेको कुरा प्राज्ञ राईले बताएका छन् ।

‘टुङ्ना, सारङ्गी, सहनाई, खैंजडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ्गा, बिनायो जस्ता मौलिक र परम्परागत नेपाली लोकबाजाहरू सम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचयात्मक र व्यवहारिक ज्ञानको परिपूर्तिका लागि यस्तो पुस्तक प्रकाशनको सोच पलाएको हो ।’– पुस्तकको औचित्यमाथि थप प्रकाश पार्दै प्राज्ञ राईले भने ।


लोपोन्मुख लोकबाजासम्बन्धी अनुसन्धान गरिने
विशिष्ट संस्कार र संस्कृतियुक्त विविध जातजाति र भाषाभाषीको सघन बसोबास रहेको प्रदेश एकमा प्रचलित मौलिक तथा लोपोन्मुख परम्परागत लोकबाजाहरू सम्बन्धी अध्ययन-अनुसन्धान गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यस्तो अध्ययन–अनुसन्धान गर्ने भएको हो ।

मानव सृष्टिको आरम्भदेखि नै मानिसले आविष्कार गरेर चाडपर्व, मेला, जात्रा आदिमा मनोरञ्जनको माध्यमका रूपमा प्रयोग गरिंदै आएका टुङ्ना, मादल, सारङ्गी, डम्फू, खैँजडी, सहनाई, दमाहा, ट्याम्को, बाँसुरी, ढोल, च्याबु्रङ, झ्याली, ढोलकी, नरसिङ्गा, कर्नाल, मुरली, मुर्चुङ्गा, बिनायो जस्ता मौलिक र परम्परागत नेपाली लोकबाजाहरूको समाजमा विशिष्ट स्थान र पहिचान रहेकाले तिनको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठानको सङ्गीत विभागको संयोजनमा अध्ययन-अनुसन्धान गर्ने निर्णय गरिएको कुरा विभागीय प्रमुख प्राज्ञ अशोक राईले बताए ।

प्राज्ञ राईले भने- ‘परम्परागत मौलिक लोकबाजाहरूको संरक्षण, सम्वर्धन  र प्रवर्धनका लागि दीर्घकालीन योजना बनाएर युवा पुस्तामा तिनका बारेमा सचेतना जगाउनु र आय आर्जनसँग त्यसलाई जोड्नु आजको आवश्यकता हो । यो अध्ययन-अनुसन्धानको उद्देश्य पनि त्यही नै रहेको छ ।’ प्राज्ञ राईका अनुसार अनुसन्धानमा बाजाहरूको इतिहास, परिचय, ऐतिहासिक तथा साँस्कृतिक पक्ष, बाजा प्रयोग गर्ने जाति, समुदाय र बाजाहरू पाइने क्षेत्रलाई समेटिने छ ।


स्वरलिपि सहितको पुस्तक प्रकाशन हुने
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले स्वरलिपि सहितको गीतको पुस्तक प्रकाशन गर्ने भएको छ । ‘प्रतिष्ठानबाट हालसम्म स्वरलिपि सहितको गीतको कुनैपनि पुस्तक प्रकाशन भएका थिएनन् । बजारमा यसखाले आधिकारिक पुस्तकको अभाव थियो । सोही कुरालाई मध्यनजर गर्दै एउटा पुस्तकको तयारी अन्तिम चरणमा पुगेको छ’ प्राज्ञ राईले जानकारी गराए ।


लोकभाकाहरूको अभिलेखीकरण गरिने
सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले पूर्वी र पश्चिम नेपालका लोपोन्मुख तीन तीन लोकभाकाहरुको दृश्य अभिलेखिकरण तथा प्रतिवेदन लेखन गर्ने भएको छ । लोकभाका नेपालका खास साँस्कृतिक ढुकढुकी भएको र तिनको खोज, अध्ययन, अनुसन्धान, संरक्षण एवम् सम्वर्धन  गर्नु दायित्व भएकोले यसपटक  पूर्वी र पश्चिम नेपालका लोपोन्मुख तीन तीन लोकभाकाहरूको अभिलेखीकरण गर्न लागिएको र यस कार्यलाई भविष्यमा पनि निरन्तरता दिंदै लगिने कुरा प्रतिष्ठानका प्राज्ञ अशोक राईले बताएका छन् । उक्त कार्य आरम्भ भइसकेको र यसै आ.ब. भित्र सम्पन्न गरिसकिने कुरा समेत प्राज्ञ राईले जानकारी गराएका छन् ।


प्राज्ञिक अध्ययन, अनुसन्धान हुने
प्रतिष्ठानले चालु आर्थिक बर्षमा विस्तृत प्राज्ञिक अध्ययन, अनुसन्धानकार्य गराईरहेको थाहा भएको छ । सामाजिक रुपान्तरण एवं ठूला ठूला राजनीतिक, सामाजिक तथा साँस्कृतिक परिवर्तनहरूमा सर्जक-कलाकारहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको तथ्यलाई हृदयंगम गरी यस बारेमा विस्तृत रुपमा खोज, अध्ययन तथा अनुसन्धान गरिएको कुरा प्रतिष्ठानका प्राज्ञ अशोक राईले बताएका छन् । देशको राजनीतिक, सामाजिक तथा साँस्कृतिक परिवर्तनहरूमा गीत-सङ्गीत क्षेत्रमा आवद्ध स्रष्टा-कलाकारहरुको सिर्जना र तिनको प्रभाव एवम् उनीहरुले खेलेका भूमिकालाई अध्ययन-अनुसन्धानको मुख्य विषय बनाईएको जानकारी प्राप्त भएको छ ।

कलाकार परिचयकोश बन्ने
गीत-सङ्गीत विधामा कार्यरत कलाकारहरूको परिचकोशको आवश्यकता महसुस गरी यसै वर्षबाट परिचय कोश निर्माणको थालनी गरिएको छ । यस कार्यमा करिब ४५ जना कलाकर्मीहरुको प्रत्यक्ष सहभागिता रहने थाहा भएको छ ।