धनमा बिकेको प्रेम ‘जहाँ छोड्यौ तिमीले’

-तुलसी गिरी ‘भावुक’


पशुपति म्युजिकले वियोगान्त भावको गीत जहाँ छोड्यौ तिमीले को भिडियो सार्वजनिक गरेको छ l मखमली स्वरका धनी स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीत एसएस गणेशले रचना गरेका हुन् l गीतमा दिवान किनारको सङ्गीत, सङ्गीत संयोजन, रेकर्डिङ र मिक्सिङ् – माष्टरिङ् रहेको छ l

सङ्गीत क्षेत्रमा गिनेचुने अब्बल दर्जाका भिडियो सम्पादकको रुपमा चिनिदै आएका निशान कश्यपको निर्देशन तथा सम्पादनमा यो भिडियो तयार भएको हो l लामो समयदेखि भिडियो सम्पादन सँगसँगै फाट्टफुट्ट निर्देशन समेत गर्दै आएका निशान पछिल्लो समय निर्देशनमा समेत निकै सक्रीय देखिएका छन् भने उनको निर्देशकीय क्षमताको पनि सर्वत्र प्रशंसा हुन थालेको छ l

जहाँ छोड्यौ तिमीले को भिडियोमा गौरव पहाडी, केकी अधिकारी र कुमार बास्तोलाको अभिनय रहेको छ l जसमा उत्सव दाहालले सिनेम्याटोग्राफी गरेका छन् l भिडियोमा एउटा सामान्य पेशा गरेर जीविका चलाईरहेको परिवारको वियोगान्त कथा समेटिएको छ l यथार्थपरक दृष्य समेटिएको यस भिडियोमा धन देखेपछि मान्छेको नैतिकता, इमान, वाचा-कसम, प्रेम र विश्वास कसरी डगमगाउँछ भन्ने कुरा देखाईएको छ l