‘मायाको फुर्लुङ्’ मा वैकुण्ठ र प्रीति

पोखरा,
राजधानी बाहिर रहेर पनि अत्याधिक गीत रेकर्ड गराउने देशकै एक अब्बल गीतकार सुमन श्रापितद्वारा रचित नयाँ गीत मायाको फुर्लुङ को भिडियो हालै बजारमा आएको छ ।

माया भुल्यौ तर्ल्याङ् र तुर्लुङ्मा
म त भुलें मायाको फुर्लुङ्मा
सोह्र बर्षे बैंश,
भर्भराउँदो आगो जस्तो सोह्र बर्षे बैंश
झन् अझै खतरा चालिसपछि रैछ

गीतमा सोह्र बर्षको भन्दा चालीस पछिको बैंश अझै खतरा हुने कुरा उल्लेख गरिएको छ । खर्चमा कत्तिपनि कन्जुस्याइँ नगरि‌ चलनचल्ती अनुसार नै मनोरञ्जक, नाच्ने र नचाउने खालको रोमान्टिक भिडियो बनाइएको छ । यस गीतका गायक तथा सङ्गीतकार वैकुण्ठ रायमाझी हुन् l गीतको आर्थिक अधिकार पनि रायमाझीमै निहीत रहेको छ । युगल स्वरमा रहेको यस गीतमा बैकुण्ठलाई गायिका प्रीति आलेले साथ दिएकी छिन् ।

गुल्मीको मुसिकोटमा जन्मिएका गायक वैकुण्ठ रायमाझी रोजगारीको सिलसिलामा विगत केही बर्षदेखि बिदेशी भूमिमा रहेका भएपनि उनले सङ्गीत कर्मलाई भने निरन्तरता दिँदै आईरहेका छन् । लोकप्रिय सङ्गीतकार, सङ्गीत संयोजक तथा धुन सम्राटको उपाधिले विभूषित बीबी अनुरागीले सङ्गीत संयोजन गरेको यस गीतलाई‌ SeroFero NEPAL नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीत प्रिज्म रेकर्डिङ स्टुडियो, बबरमहलमा रेकर्ड भएको हो ।

पछिल्लो समय नेपाली म्युजिक भिडियोका अत्यन्तै व्यस्त मोडलद्वय दुर्गेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको यस भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । जसमा नवराज उप्रेतीको सिनेम्याटोग्राफी र सम्पादन विष्णु शर्माको रहेको छ ।