हुने बिरुवाको चिल्लो पात,धेरै विधामा अब्बल: शिक्षा रसाईली

तुलसी गिरी ‘भावुक’


हुने बिरुवाको चिल्लो पात भने झैं प्रसिद्ध सङ्गीत साधक, बहुआयामिक सर्जक-कलाकार बी. बी. अनुरागीकी छोरी शिक्षा रसाईलीले आफ्नै बाबासँग गाएको लाइभ दोहोरी नरोऊ मायालु युट्युबमा निक्कै लोकप्रिय भएको छ l नृत्य र अभिनयमा समेत उत्तिकै पारङ्गत बाल प्रतिभा शिक्षा केहीदिन अघि मात्र कक्षास्तरीय नेपाली र अङ्ग्रेजी हेण्डराइटिङ प्रतियोगितामा समेत प्रथम भएकी थिईन् l शिक्षा अहिले कक्षा ७ मा अध्ययन गरिरहेकी छिन् l बाबाछोरीको दोहोरी नरोऊ मायालु लगभग १ हप्ता अघि मात्र जूनकिरी लाइभ स्टुडियो नामक युट्युब च्यानलबाट सार्वजनिक भएको थियो भने भिडियोले ३ लाख नजिक नजिक भ्युज पाईसकेको छ l

नरोऊ मायालु लोकभाकाका मूल सर्जक धन बहादुर गायक हुन् l यही थेगो र भाकालाई आधार मात्र बनाएर बाबाछोरी बीबी र शिक्षाले गाएको यस गीतमा सन्देश, अनुभूति, कर्तव्य र दायित्वका कुरा गरिएका छन् l सामाजिक र पारिवारिक यो गीत मार्मिक, मननीय र प्रेरणादायी समेत रहेको छ l गीतमा बाबाछोरीलाई कमल कुमार बिक, निशान प्रतिमा बिक, रत्न, श्रेया, सुनिता, पुतली आदि गायक-गायिकाले साथ दिएका छन् भने लाइभ वाध्यवादनतर्फ हार्मोनीमा बीबी स्वयम् , सारङ्गीमा सुकुराम रसाईली, गितारमा सुवास विश्वकर्मा र मादलमा श्यामश्वेत रसाईली रहेका छन् l

प्रस्तुत लाइभ दोहोरीको सिनेम्याटोग्राफी पदम ल्वागुन र ताराकान्त वि.क.ले गरेका हुन् भने सम्पादन ताराकान्त र अडियो रेकर्डिङ् पदमको रहेको छ l स्थापनाको छोटो समयमै जूनकिरी लाइभ दोहोरी नामक यस च्यानलले दर्शक-श्रोताको मन जित्न सफल भएको छ l  

हजुरआमादेखि नाति-नातिनीसम्म एकै परिवारका लगभग १ दर्जन सदस्यको दैनिकी सङ्गीत मात्र भएको यो रसाईली परिवार नेपाली सङ्गीत इतिहासकै एउटा प्रेरक र उदाहरणीय परिवार हो l अनुरागी परिवारको यो आवद्धता नेपालको मात्र नभई विश्वकै लागि एउटा दुर्लभ घटना हो l संलग्न मात्र भएको कारणले होईन कि, बीबी अनुरागी जस्ता उच्चकोटीका सर्जक र श्यामश्वेत जस्ता औंलामा गन्न सकिने अब्बल दर्जाका प्राविधिक भएको कारणले पनि यो परिवारलाई नेपाली सङ्गीतले कहिल्यै बिर्सन सक्दैन l