प्रवाशी नेपालीहरुको द*र्दनाक कथा ‘नमुछे आमा दहीमा टिका’

तुलसी गिरी ‘भावुक’


हिन्दूहरुको महान पर्व दशैं-तिहार नजिकिँदै गर्दा दशैँ-तिहार विशेष गीतका भिडियोहरु पनि रिलिज हुने क्रम बढिरहेको छ l लाइभ प्रस्तुति मार्फत दर्शक-श्रोतामा अत्यन्तै लोकप्रियता हासिल गरिरहेको रिमा इन्टरटेनमेन्टबाट भरखरै दशैँ-तिहार विशेष गीत नमुछे आमा दहीमा टिका को भिडियो सार्वजनिक भएको छ l लक्ष्मण रायमाझीको शब्दरचना र वरिष्ठ सङ्गीत साधक नारायण रायमाझीको सङ्गीत रहेको यो गीतमा नारायण रायमाझी र रचना रिमालको स्वर रहेको छ l २०५५ सालमा नारायण रायमाझीको एकल स्वरमा प्रथमपटक र २०५८ सालमा कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा दोस्रोपटक रेकर्ड भएको यो गीतको भिडियो अहिले नारायण रायमाझी र रचनाको स्वरमा लाइभ प्रस्तुति मार्फत पुन: सार्वजनिक भएको हो l यो समाचार लेखिरहँदा युट्युबमा अपलोड भएको १५ घण्टामै भिडियोले सवा २ लाख बढी भ्युज पाईसकेको छ l

केही समय अघिमात्र रिमा इन्टरटेनमेन्टबाट सार्वजनिक भएको स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना, नारायण राममाझीको सङ्गीत तथा प्रविन बेडवाल र रचना रिमालको स्वरमा रहेको गीत उनको प्रीति ले युट्युबमा ४ मिलियन नजिक नजिक भ्युज पाईसकेको छ l

नमुछे आमा दहीमा टिका का पुराना एरेन्जर कुन्दन राई हुन् l अहिले प्रकाशित गीतमा श्यामश्वेत रसाईलीले अतिरिक्त एरेन्ज गरेका छन् भने मनोज खड्काले रेकर्डिङ गरेका हुन् l गीतको मिक्सिङ पनि श्यामश्वेतले नै गरेका छन् l यस भिडियोका सिम्याटोग्राफार तथा सम्पादक मिराज अर्याल हुन् l जसमा विनोद खड्का, विवेक खड्का, मनोज खड्का, पूजा महर्जन आदि कलाकारको अभिनय रहेको छ l

गीतले परदेशमा मृ*त्युद*ण्डको सजाय पाएको एक युवकले आफ्नो परिवारलाई पठाएको अन्तिम सन्देश हृदयस्पर्शी भावमा व्यक्त गरेको छ l  संसार छाड्ने बेला आईसकेकोले दशैंमा जमरा नछर्न र टिका नमुछ्न आग्रह गर्दै उसले आफ्नी जीवन सङ्गिनी र लालाबालालाई पनि सम्झिएको छ l अत्यन्तै कारुणिक भाव र स्वरमा रहेको यो गीतले नेपालीहरुको एउटा अत्यन्तै द*र्दनाक र यथार्थ पाटोलाई उजागर पारेको छ l कलाकारहरुको अभिनय सहितको यस गीतको भिडियो भने आगामी शुक्रबार रिलिज हुने यही लाइभ भिडियो मार्फत जानकारी दिईएको छ l  

औपचारिक गायन यात्रा आरम्भ गरेको छोटो समयमै लोकप्रिय हुँदै गएकी रचना रिमालले बहुआयामिक सर्जक-कलाकार नारायण रायमाझीसँगको सहकार्यबाट अझ आश्चर्यजनक र उदाहरणीय सफलता हासिल गरेकी छिन् l