तमाम परदेशीहरुको तर्फबाट गीतकार अम्गाईको सन्देश

तुलसी गिरी ‘भावुक’


दशैँ-तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईले परदेशीको पीडा समेटिएको दशैं-तिहारविशेष गीत तिमीलाई सन्देश को भिडियो सार्वजनिक गरेका छन् l हिजो मात्र Hemanta Kanchha Rasaily युट्युबबाट भिडियो सार्वजनिक भएको हो l लोकप्रिय सङ्गीतकार सुनिल मास्केको सङ्गीत, प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र हेमन्त कान्छा रसाईलीको स्वर रहेको यो गीत केही समय अघि मात्र ए वान म्युजिशियन स्टुडियोमा रेकर्डिष्ट राजेश श्रेष्ठले रेकर्डिङ गरेका थिए l गायक हेमन्त एक कुशल सारङ्गीवादक समेत हुन् l

तिमीलाई सन्देश को भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको हो l जसमा निश्चल पौडेलको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ l भिडियोमा गीतका गायक समेत रहेका हेमन्त कान्छा र रेनु पुन मगरले अभिनय गरेका छन् l भिडियो हेरिसकेपछि विशेषगरी नायिका रेनुको जीवन्त अभिनयको प्रशंसा नगरी रहन सकिन्न l गीतमा परदेशी युवकले दशैं-तिहारमा घर आउन नपाएको तर मन परिवारमै भएको हृदयस्पर्शी सन्देश व्यक्त भएको छ l खासगरी आफ्नी अर्धाङ्गिनी र बाबुआमालाई पत्र मार्फत उसले पठाएको सन्देश यथार्थपरक, समसामयिक र मन छुने किसिमको छ l लामो समयदेखि रोजगारीको सिसिलामा परदेशमै रहेका गीतकार अम्गाई भन्छन् –’कति आफ्नै कथाव्यथा, कति अरुका कथाव्यथा उतार्ने कोसिस गरेको छु l’ यो समाचार लेखिरहँदा अपलोड भएको २० घण्टामै भिडियोले ७० हजारको नजिक नजिक भ्युज पाईसकेको छ l

केही समय पश्चात् अन्य गीत पनि आउने तयारीमा
ध्रुव प्रसाद अम्गाईको शब्दरचनामा अर्जुन पोखरेलको सङ्गीत रहेको गीत काले केटा २ को भिडियोको काम पनि अन्तिम चरणमा रहेको जनाइएको छ । सो गीतमा दुर्गा खरेल (पोखरेल) र निशान भट्टराईको आवाज रहेको गीतकार अम्गाईले जानकारी दिएका छन् । भिडियोमा पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको थाहा भएको छ ।

यसैगरी राज सागर र विन्दु परियारको स्वर रहेको गीत माया हे माया…. को पनि छिट्टै भिडियो सार्वजनिक हुने भएको छ । जसमा जि. बि. चिरन र सुशीला थापाको अभिनय रहने छ । राज सागरको सङ्गीतमा अर्को गीत तिमी राधा म कृष्ण यही असोज २२ मा रेकर्डिङ हुने तयारीमा रहेको र अन्य ५ वटा  गीतको सङ्गीत संयोजन भईरहेको जानकारी गीतकार अम्गाईबाट प्राप्त भएको छ । नजुरेको लगनमन खोलेर गाउँ है गीतन भुल्न सक्नेघरमा कुरा,  मखमली चोली आदि अम्गाईका चर्चित गीत हुन् ।

अम्गाई औपचारिक सङ्गीत यात्राको छोटो समयमै अर्थपरक, सन्देशमूलक, गहकिला र हृदयस्पर्शी गीतका कारण चर्चामा आएका गीतकार हुन् ।