वर्ल्ड रेकर्डेड गीत ‘मायामा हामी’को भिडियो सार्वजनिक

तुलसी गिरी ‘भावुक’

कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको फरक शैलीको गीत मायामा हामी… को लिरिकल भिडियो सार्वजनिक भएको छ । अक्षरपिच्छे फरक फरक स्वर भएको यस गीतमा एउटा अक्षरमा पुरुषको र अर्को अक्षरमा नारीको स्वर रहेको छ । पूरै गीत अक्षरैपिच्छे नारी पुरुष – नारी पुरुष स्वर हुँदै सकिएको छ । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने भविन ढुङ्गाना र रिता केसीले स्वर दिएका छन् ।

फरक शैलीको गायकी भएको यो गीतले केही समयअघि विश्व रेकर्ड राख्न सफल भएको थियो । यो गीत उपाध्यायको केही समयअघि सार्वजनिक भएको एल्बम चाहनाको महल मा समावेश छ । फरक चिन्तन, फरक शब्द, फरक शैली, फरक विषयबस्तु र फरक प्रस्तुतिका गीत मार्फत डा. उपाध्याय गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित ३२ भिन्न भिन्न विधामा विश्व रेकर्ड राख्न सफल भएका छन् ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । सधैं अरुले गरेका भन्दा पृथक काम गर्न रुचाउने गीतकार उपाध्यायका  २३ एल्बममा रहेका गीतमा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । जसमा चाडपर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी लगायत बिभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तैगरी उनका मेजर र माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू पनि प्रकाशित छन् । सयौं गीतका सर्जक डी.आर.का दश उपन्यास पनि पाठकमाझ आएका छन् ।