सत्य घटनामा आधारित म्युजिक भिडियो ‘उठ्न देऊ’

सपना चन्द


लोकप्रिय गायक मानसराजको सुमधुर आवाजमा सजिएको गीत उठ्न देऊ को भिडियो सार्वजनिक भएको छ । फरक शैलीका गीत तथा पृथक शैलीका म्युजिक भिडियोहरु ल्याएर श्रोता / दर्शकको मन जित्न सफल गायक मानसराजले यसपाली पनि पृथक एवं सत्य घटनामा आधारित सन्देशमूलक म्युजिक भिडियो दर्शकसामु ल्याएका छन् । ‘भाइरल भैदियो’, ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ जस्ता चर्चामा रहेका गीत पछि उनी अहिले उठ्न देऊ लिएर आएका हुन् ।

ड्रग्स एडिक्ट तथा कुलतमा फँसेकाहरुलाई हाम्रो समाज र घर परिवारले गर्ने ब्यबहार र घृणालाई यस म्युजिक भिडियो मार्फत जीवन्त रुपमा प्रस्तुत गरिएको छ । जुन कथा सत्य घटनामा आधारित पनि हो । सञ्जीव क्षेत्री अर्थात सन्जु बाबा बाल्यकालदेखि नै कुलतमा फँसेपछि उनले भोगेका दु:ख, पीडा र सामाजिक बहिस्कारलाई भिडियोमा जस्ताको त्यस्तै देखाउन खोजिएको छ भने भिडियोको अन्तिममा सन्जु बाबा कसरी कुलतबाट छुट्कारा पाएर सामाजिक जीवनमा फर्किए भन्ने कुरा पनि आकर्षक ढङ्गबाट प्रस्तुत गरिएको छ । यस भिडियोमा सन्जु बाबालाई सकारात्मक र नकारात्मक दुबै भूमिकामा अभिनय गराईएको छ । भिडियोमा सन्जु बाबासँगै ३ बर्षीय बाल कलाकार क्रिभिशेषको पनि जीवन्त अभिनय देख्न सकिन्छ ।

गीतमा प्रदिप जोशीले म्युजिक एरेन्ज गरेका छन् । मानसराज स्वयंको निर्देशन रहेको यस भिडियोमा रिक्की कर्माचार्यको छायाङ्कन तथा सम्पादन रहेको छ भने प्रभाकर न्यौपाने सहायक निर्देशकको रुपमा रहेका छन् । भिडियोमा सन्जु बाबा, क्रिभिशेष खड्का, सङ्गीता थापा, रोजन बराइली र प्रविन तामाङ वाइबाको अभिनय रहेको छ ।