मुटुभरि देश बोकेर आए गीतकार महेश्वर

कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको राष्ट्रिय भावको युगल गीत मुटुभरि देश बोकी  को भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो म्युजिक भिडियो हो । रुपन्देही, देवदहका स्थायी बासिन्दा गीतकार शर्मा  हाल अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्छन् ।

आनन्द राईको सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन र साजन साहको मिक्सिङ रहेको प्रस्तुत गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल र सुमधुर स्वरकी धनी मेलिना राईको स्वर सुन्न सकिन्छ । युवराज वाइबाको निर्देशनमा निर्माण भएको यस भिडियोमा राज पोखरेल र दीपेन्द्र भट्टको छायाङ्कन तथा विकास दाहालको सम्पादन रहेको छ ।

भिडियोमा रचनाकार महेश्वर शर्मा, गायक रामकृष्ण ढकाल, गायिका मेलिना राई, सङ्गीतकार आनन्द राई, सोनम पाण्डे शर्मा, कृष्ण शर्मा, सरोज दाहाल र साक्षी लम्साललाई देख्न सकिन्छ ।

लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका गीतकार शर्माको यसअघि कवितासङ्ग्रह प्रवासका जूनहरु प्रकाशित भएको थियो ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य तथा अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएका छन् ।