प्रेम वियोगको पीडा पोख्दै सुनिता

तुलसी गिरी ‘भावुक’


सुनिता श्रेष्ठको स्वरमा रहेको वियोगान्त भावको गीत बदनाम गरेर को भिडियो सार्वजनिक भएको छ l पोखरामै बसेर लामो समयदेखि सिर्जनामा क्रियाशील रहेका गीतकार सुमन श्रापितको शब्दरचना र बहुमुखी सर्जक / कलाकार बी. बी. अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यो गीतमा अडियो मिक्सिङ श्यामश्वेत रसाईलीले गरेका छन् l सन्जो सुनारको निर्देशन तथा सम्पादनमा तयार भएको यस भिडियोमा गायिका स्वयम्लाई नै अभिनयमा देख्न सकिन्छ l

गीतमा आफ्नो प्रेमीबाट धोका पाएकी एक युवतीको पीडा र गुनाशाहरु पोखिएको छ l  जहाँ आफूले अत्यन्तै बिश्वास गरेको मान्छेले नै घात गरेको छ र विश्वासमाथि बज्रपात भएको छ l अझ ऊ बदनाम गरेर रमाउन खोजेको छ l पीडा, जलन, गुनाशा र पश्चात्तापले भरिएको यस गीतको भाव अनुसार सिर्जित मेलोडीमा गायिका सुनिताको स्वरले न्याय गरेको त छ नै, अभिनयमा पनि उनले आफूलाई कुशल कलाकारको रुपमा प्रस्तुत गरेकी छिन् l भिडियोका काल्पनिक दृश्यमा रमाउने भन्दा शब्द, सङ्गीत र स्वरको भाव र मिठासमा हराउन चाहने श्रोताको लागि एउटा यादगार कोसेली हुन सक्छ बदनाम गरेर l