उत्साहजनक सफलतातिर उत्साह घिमिरे

सुमन श्रापित


नायक नायिका वा मोडललाई‌ लामो समयसम्म आफ्नो क्षेत्रमा टिक्न र बिकाउको कलाकार बन्नका लागि नृत्य र अभिनयमा दम हुनु पर्दछ भने बौद्धिकता, शारीरिक सुन्दरता एवम्‌ आचरण र व्यवहारको पनि अहम् भूमिका हुने गर्दछ । यी सबै गुणले भरिपूर्ण मोडल एवम्‌ नायिका ‌हुन् उत्साह घिमिरे ‌।

बि.सं. २०६७ सालमा लोकप्रिय गायिका स्वरुपा रसाइली र लक्ष्मी बिश्वकर्माको आवाज तथा बिबि‌ अनुरागीको रचना/सङ्गीतको‌ तीजगीत चाउचाउ नि खाएँ बाट मोडलिङमा डेब्यु गरेकी उत्साहले‌ लगभग दुई दर्जन गीतमा काम गरिसकेकी छिन् । जस्तोसुकै भूमिकामा पनि न्याय गरेर अभिनय गर्न‌ सक्ने क्षमता भएकी उनी नृत्यमा पनि‌ त्यत्तिकै पारङ्गत छिन् ।

पद्मकन्या क्याम्पस काठमाडौँमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उत्साह पढाई सँगसँगै आफ्नो अभिनय यात्रालाई पनि अघि बढाईरहेकी छिन् । उनले म्युजिक भिडियोका साथै केही सिरियल र सर्ट मुभिमा पनि अभिनय गरेकी छिन् । रमझम तीज, मीठो सम्झना, मीठो बोली, बारीको फूल, नाच्छु बेपत्ता, आमाको छाया, जून बनेर आउनू तिमी, बलवान हुँ भन्थें समय रोक्न सकिन, सगरमाथाको देश, दशैं आयो, ज्वाईराजा, बाग्लुङ भकुण्डे, वर्षदिन बितेको, आयौँ चेली माइती सम्झेर, यसपालीको तीज स्वाहा आदि उत्साहद्वारा अभिनित लोकप्रिय गीतहरू ‌हुन् ।

उनले आधुनिक, लोक लगायत सबैखाले‌ गीतमा काम गरेकी छिन् । जसमध्ये धेरै र उत्कृष्ट काम तीज गीतहरुमा गरेकी छिन् । यो बर्ष रामकुमार नेपाली र ईन्दु बानियाँको‌ स्वर, बिबि अनुरागीको सङ्गीत र प्रेम कटुवालको‌ रचनाको तीजगीत यसपालीको तीज स्वाहा मा उनको दमदार अभिनय देख्न सकिन्छ । सीता रसाइलीको स्वर, बिबि अनुरागीको शब्द /सङ्गीतमा रहेको बर्षदिन बितेको बोलको गीतमा चर्चित मोडेल अञ्जली अधिकारीसँगै कम्मर मर्काई मर्काई ‌नाचेकी छिन् उनी ।

घनश्याम ओलीको शब्द, दीपक शर्माको सङ्गीत तथा एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको‌ स्वर रहेको यसैबर्ष रिलिज भएको तीजगीत आयौं चेली माइती सम्झेर पनि उनीद्वारा अभिनित अर्को उत्कृष्ट गीत हो ।

जूनकिरी दोहोरी घर द्वारा गरिने दोहोरी‌ गीत गायनका हरेक शृङ्खलामा कुनै न कुनै भूमिकामा उत्साहलाई देख्न सकिन्छ । एक नायिका एवम् मोडेलका लागि चाहिने नृत्य, अभिनय आदि जस्ता आधारभूत कुराहरु पनि‌ उनले सिकेकी छिन् ।

बाग्लुङ नगरपालिका वडा नं ९, तित्याङ, बाग्लुङमा जन्मेकी उत्साह घिमिरेको‌ दिनानुदिन माग बढिरहेको छ । उनको अभिनयका केही गीतहरु रिलिज हुन बाँकी छन् भने केही गीतहरुमा काम गर्नका लागि अनुबन्धित पनि भएकी छिन् । फगत रहर पूरा गर्न मात्र उनी यस क्षेत्रमा आएकी होईनन् । पेशागत रुप‌ले लाग्ने उद्देश्यका साथ प्रवेश गरेकी उत्साह‌को लगनशीलता र क्षमताको मूल्याङ्कन गर्दा उनी एक‌ सफल‌ एवं व्यावसायिक कलाकारको रुपमा स्थापित हुने छिन् भन्ने सहजै अनुमान गर्न सकिन्छ  ।