अनुरागी र श्रापितको ‘तारेभीरमा बुकी’

सङ्गीतकार बिबि‌ अनुरागी र गीतकार सुमन श्रापित बीचको साङ्गीतिक सहकार्य बर्षौंदेखि निकै जम्दै आएको छ । श्रापित र अनुरागी गीतकार र सङ्गीतकारको‌ रुपमा मात्र नभई मित्रताको एउटा उदाहरणीय जोडीको रुपमा पनि‌ सर्वत्र परिचित छन् । यी दुईको‌ सहकार्यका थुप्रै गीतहरु नेपाली गीत सङ्गीत बजारमा कालजयी बनेका छन् । बसाईका हिसाबले बिबि काठमाडौँ बस्छन् त सुमन पोखरा । भौतिक दूरी जति लामो भए नि यी दुई बीचको मनको दूरी कत्तिपनि छैन र मित्रता अनि  साङ्गीतिक सहकार्यमा भौतिक दूरीले विल्कुलै फरक पारेको छैन । अनुरागी देशकै अब्बल सङ्गीतकारहरु मध्येका एक हुन् भने श्रापित पनि राजधानी बाहिर रहेर अत्याधिक गीत रेकर्ड गराउने चीरपरिचित गीतकार हुन् ।

यसै क्रममा यी दुईको‌ शब्द / सङ्गीतमा पछिल्लो समय साङ्गीतिक कोसेली तारेभीरमा बुकी बजारमा आएको छ । जसमा नव गायक धिरेन कुमार रोकाया र मेलिना राईको‌ आवाज रहेको छ । रोजगारीको सिलसिलामा कोरियामा रहेका गायक रोकायाको‌ आवाज कोरियाकै स्टुडियोमा रेकर्ड गरिएको हो भने बाँकी काम प्रिज्म डिजिटल काठमाडौंमा भएको हो । तारेभीरमा बुकी अहिलेको चलन चल्तीको रमाइलो डान्सिङ शैलीको गीत हो । यस गीतमा गीतकार सुमन श्रापितले माया लाउनु‌ पाप होइन, अपराध होइन, माया बिना संसार अछुतो रहन पनि सक्दैन भन्दै माया लाउनेहरुलाई लुकीछिपी होइन हाक्काहाक्की लाउनु पर्छ भनेर सुझाएका छन् । गीत मार्फत उनले मायालाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताएका छन् ।

यस गीतमा सङ्गीतकार बीबी अनुरागीकै सङ्गीत संयोजन रहेको छ भने गीतको मिक्सिङ / माष्टरिङ‌ श्यामश्वेत रसाइलीले गरेका छन् । म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायाङ्कन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सह-निर्देशक रहेको यो भिडियो शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।