सङ्गीतकारको रूपमा पहिचान स्थापित गर्दै रमेश

सानैदेखि गीत सङ्गीतमा गहिरो अभिरुची भएका रमेश मगर कोशी अञ्चल, धनकुटा जिल्लाको मुढेबास गा• बि• स• वडा नम्बर २ { हालको चौबिसे गाँउपालिका वडा नम्बर २ } मा जन्मिएका हुन् । बालापनमै पितृ वियोग र आमाको माया – ममतादेखि टाढा हुनु परेकाले निकै सङ्घर्ष गर्दै अनि कठिन दिनहरुसँग जुध्दै बालापन बितेको सम्झना छ उनलाई । धनकुटाकै स्थानीय विद्यालयदेखि एस• एल• सि• सम्मको अध्ययन पूरा गरी उच्च शिक्षाको लागि मोरङ जिल्लाको उर्लाबारीमा चारवर्ष जति बिताएका रमेश मगरले बिए सम्मको अध्ययन पूरा गरेका छन् । मोरङकै एक स्थानीय सङ्गीत प्रशिक्षण केन्द्रमा केही महिना सङ्गीत सिकेका रमेश सङ्गीत, शिक्षा र अवसरको खोजीमा एउटा मीठो सपना बोकेर राजधानी छिरेका थिए । बाहिरबाट राम्रो र सुन्दर देखिने काठमाडौं शहरमा केही बर्ष स्कुले बालबालिकाहरुलाई पढाउने पेशा पनि गरेका रमेश सङ्घर्षकै सिलसिलामा हाल दक्षिण कोरियामा रहेका छन् ।

कोरियाको बसाईमा गीतकार राम कुमार राई सँगको भेटले सङ्गीतमा अरु केही गर्ने उत्साह र जोश बढाएको रमेश बताउँछन् । गीतकार राम कुमार राईकै शब्द र खोटाङ आइडल तेज राईको स्वरमा रहेको गीत सुस्त हावा शितल छाया उनको सङ्गीतमा रेकर्ड भएको पहिको गीत हो । बिदेशी भूमिमा अत्यन्तै व्यस्त हुँदाहुँदै पनि हालसालै आफ्नै शब्द तथा सङ्गीतमा उनले लोकप्रिय गायक राजेशपायल राईको आवाजमा नसम्झाऊ अतितका ती तीता पलहरुखै के भयो के भयो बोलका दुईवटा गीत रेकर्ड गराएका छन् । पछिल्लो गीत खै के भयो के भयो को भने गायक / सङ्गीतकार सन्तोष दुमीको निर्देशनमा छिट्टै भिडियो आउन लागिरहेको जानकारी प्राप्त भएको छ । जसमा धन खालिङको छायाङ्कन तथा सम्पादन र किशन भुसालको कोरियोग्राफी रहेको छ भने एलिस राई, नग्मा श्रेष्ठ र निनाम हाङ राईको अभिनय रहेको छ ।