मायाको परिभाषा खोज्दै गीतकार केसी

तुलसी गिरी ‘भावुक’


नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय का पूर्व रजिष्ट्रार एवं गीतकार बिसु कुमार के. सी. को शब्दरचना तथा नरहरि प्रेमीको सङ्गीत र स्वरमा रहेको गीत नरोज माया हतारमा को लिरिकल भिडियो सार्वजनिक भएको छ l Music Nepal नामक युट्युब च्यानलबाट भरखरै मात्र रिलिज गरिएको यो भिडियोको ग्राफिक्स रविन देसारले तयार परेका हुन् l

गहिरा र मननीय भाव बोकेको यस गीतमा अपरम्पार मायाको दुरूह रहस्य खोतल्ने प्रयास गरिएको छ l यस गीतलाई मायाको दर्शनको रुपमा पनि बुझ्न सकिन्छ l ‘मायाले संसार चलेको छ l मायामै धर्ती अडेको छ l न यसलाई जोख्ने तुलो छ, न यसको कुनै आकार नै छ, न त यसको बयान गर्ने पर्याप्त शब्दहरु नै छन्’ गीतमा भनिएको छ l  बुझेर बुझ्न नसकिने, दिएर नरित्तिने, लिएर नअघाईने, सुन्दरताको कुनै सिमा नहुने र वयान गर्न शब्द नै नपुग्ने माया को बारेमा अन्य कवि, लेखकहरुले झैं गीतकार केसीले पनि सुन्दर शिल्पमा आफ्नै प्रकारका मौलिक, मीठा र गहन भावहरु पोखेका छन् यस गीतमा l

अक्सर फाष्ट बिटका गीतमा कहिले सङ्गीतकार, कहिले गायक त कहिले दुबै भूमिकामा देखिँदै आएका नरहरि प्रेमीले यस गीतमा आफूलाई शास्त्रीय महकमा डुबाएर उस्तादको रुपमा अझ भनौं मेलोडियस सङ्गीतकार / गायकको रुपमा प्रस्तुत गरेका छन् l बजारमा यो गीत कति दर्शक / श्रोताको रोजाईमा पर्ला त्यो अर्कै पाटो हो l तर भोलिका दिनमा सर्जक / कलाकार प्रेमीले ‘यो मेरो गीत हो’ भनेर जो कोहीलाई सगर्व नरोज माया हतारमा देखाउन सक्ने छन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ l