गीतकार अञ्जनाले पहिलोपटक गीत गाईन्

-तुलसी गिरी ‘भावुक’


गीतकार अञ्जना पौडेल ‘अनुश्रुति’ ले पहिलोपटक गीत गाएकी छिन् l गत शनिबार नागपञ्चमीको दिन भेनस स्टुडियो, महाराजगंजमा रेकर्ड भएको आफ्नै शब्दरचनाको भजनमा उनले स्वर दिएकी हुन् l ‘गाउने रहर कसलाई हुँदैन र ? मेरो स्वर त्यति मीठो नभए पनि समूहमा स्वर दिएकी हुँ’ अञ्जनाले खुशी हुँदै भनिन् l ओम नम: शिवाय ओम नम: शिवाय बमबम भोले बोलको सो भजनमा वरिष्ठ गायिका मिरा राणाको सङ्गीत रहेको छ भने मिरा राणा, हरिशंकर चौधरी, सविन सुवेदी, जितेन्द्र बस्नेत, निशा शिवाकोटी र अञ्जना पौडेल ‘अनुश्रुति’ ले स्वर दिएका छन् l गीतको म्युजिक एरेन्ज विक्रम कार्कीले र रेकर्डिङ धनपाल गुरुङले गरेका हुन् l

करिव ४ बर्ष अघि रेखा पौडेलको सङ्गीत तथा रजिना रिमाल र सन्जिब कुमार पौडेलको स्वरमा आधुनिक गीत भन्दिनँ म तिमीसँगै जिउँछु तिमीसँगै मर्छु रेकर्ड गरी गीतकारको रुपमा औपचारिक यात्रा आरम्भ गरेकी अञ्जनाको रचनामा आधुनिक, लोक तथा लोकदोहोरी र भजन गरी हालसम्म आधा दर्जनजति गीत रेकर्ड भएका छन् भने केही गीत रेकर्ड हुने क्रममा रहेका छन् l यो शिव भजनको भिडियो पनि छिट्टै आउने कुरा गीतकार अञ्जनाले जानकारी गराएकी छिन् l