‘बुद्धि आउनी सुई’ खोज्दै सगुन र सरापे डाक्टरकोमा

-तुलसी गिरी ‘भावुक’


लकडाउनका नियमहरु खुकुलो भएसँगै सङ्गीत क्षेत्रमा पनि चहलपहल बढेको छ भने युट्युब च्यानलहरु बिस्तारै तीजमय बन्दै गएका छन् l तुलनात्मक रुपमा गत वर्षहरुमा भन्दा धेरै कम मात्रामा तीजगीत प्रकाशन भईरहेका छन् l  तथापि कोरोना सङ्क्रमण बढिरहेको बेला यति भिडियोहरु प्रकाशन हुनुलाई पनि ठूलै उपलब्धीका रुपमा हेर्न सकिन्छ l यसै सिलसिलामा केहीदिन अघि मात्र पशुपति म्युजिकले बुद्धि आउनी सुई शीर्षकको तीज भिडियो सार्वजनिक गरेको छ l शिव पौडेलको शब्दरचना तथा पुरुषोत्तम पौडेलको सङ्गीत एवं पुरुषोत्तम पौडेल र समीक्षा अधिकारीको स्वरमा रहेको यो गीत तथा भिडियो हास्यप्रधान रहेको छ l गीतमा विनोद बाजुरालीको सङ्गीत संयोजन, खड्क बाजुरालीको मिक्सिङ / माष्टरिङ तथा विमल छिनालको रेकर्डिङ रहेको छ l

कमेडी ड्रामामा आधारित यो भिडियोमा नृत्य छैन l सराप किङ यादव देवकोटा ‘सरापे’ र सगुन शाहीको प्रमुख भूमिका रहेको यस भिडियोमा एक अर्काप्रति गुनासो पोख्दै र आरोप लाउँदै बुद्धि आउने सुई लाउँन पति पत्नी डाक्टरकहाँ पुग्छन् l दुबैका कुरा सुनिसकेपछि अन्त्यमा डाक्टरले स्वास्थ्य सम्बन्धी नभई पारिवारिक समस्या भएकोले घरमै गएर मिलाउने सल्लाह दिएपछि भिडियो सकिन्छ l गीत तथा भिडियोमा कथात्मक अभिव्यक्ति, सिलसिलेवर दृश्य र मनोरन्जनात्मक अभिनय भएकोले यसले स्रोता दर्शकलाई आकर्षित गर्ने देखिन्छ l कपिल लामाको निर्देशन, दीपक गिरीको छायाङ्कन तथा शिव पौडेलको सम्पादन / कलर करेक्शन रहेको यो भिडियो जनता फिल्म्स्को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l