प्रस्तोता समाजका CEO नारायण कडरियाले दिए राजिनामा

-तुलसी गिरी ‘भावुक’


गायक / गायिका लगायत सङ्गीत तथा चलचित्र क्षेत्रका समग्र कला प्रस्तोताहरुको रोयल्टी सङ्कलन तथा वितरणका लागि स्थापित संस्था प्रस्तोता समाज नेपाल का प्रमुख कार्यकारी अधिकृत { CEO } नारायण कडरियाले पदबाट राजिनामा दिएपछि उनलाई विदाई गरिएको छ l  गत चैत महिनामै राजिनामा पेश गरेका CEO कडरियाको बैशाख १ गतेबाट लागू हुनेगरी राजिनामा स्वीकृत भएको थियो भने गत असार ३१ गते औपचारिक रुपमा उनलाई विदाई गरिएको हो l संस्थाका पूर्व अध्यक्षहरु हेमन्त शर्मा र तुलसी पराजुलीका साथै वर्तमान अध्यक्ष शिव हमाल लगायत कार्यसमितिका केही पदाधिकारी तथा कर्मचारीहरुको उपस्थितिमा कदरपत्र सहित कडरियालाई विदाई गरिएको थियो l

बि. स. २०७२ सालमा खुला प्रतिस्पर्धाबाट CEO मा छनोट भएका नारायण कडरिया तीनवटै रोयल्टी सङ्कलन संस्थाहरुको इतिहासमा औपचारिक रुपमा विदाई पाउने पहिलो CEO हुन् l विदाई समारोहमा बोल्दै संस्थाका अध्यक्ष शिव हमालले कडरिया आफ्नो संस्थाको लागि संसारकै सबैभन्दा योग्य व्यक्ति भएको धारणा राखेका थिए l यसैगरी पूर्व अध्यक्ष तुलसी पराजुलीले संस्थामा रहँदा कडरियाले आर्जन गरेको ज्ञान खेर जान दिन नहुने धारणा राख्दै यो विदाई एउटा प्रक्रिया मात्र भएको तर साथ र सहकार्य निरन्तर रहने विचार राखेका थिए l अर्का पूर्ब अध्यक्ष हेमन्त शर्माले कडरियाको प्रशंसा गर्दै आफूले चाहे जस्तो योग्यता भएका CEO को रुपमा पाएको अनुभव सुनाएका थिए l आफू कर्मचारीका रुपमा नभए पनि संस्थासँगको सम्बन्ध कहिल्यै नटुट्ने र आवश्यक परेको बेला सहयोग गर्ने वचनबद्धता प्रकट गर्दै विदाई समारोहमा नारायणले गृह जिल्ला झापा फर्किएर कृषिमा लाग्ने कुरा बताएका छन् l