अधुरो प्रेमको जलनमा गीतकार तारा

तुलसी गिरी ‘भावुक’


गीतकार तारा अधिकारीको शब्दरचनामा वियोगान्त भावको गीत पराईको सिन्दुर को भिडियो सार्वजनिक भएको छ l नरेन्द्र प्यासीको सङ्गीत तथा स्वरमा रहेको यस गीतको सङ्गीत संयोजन विनोद भुजेलले गरेका हुन् भने मिक्सिङ् / माष्टरिङ अशोक महर्जनको रहेको छ l

आम गीतहरु भन्दा फरक भाव एवं मौलिक चिन्तन बोकेको यस गीतमा गीतकारले पराईको सिन्दुर लगाईसकेकी प्रियतमाको यादमा वेचैन पुरुषको मनोदशा उजागर पारेकी छिन् l अधुरो प्रेमको जलन, सामाजिक मर्यादाको पर्खाल अनि तन पराई भएपनि मनले बिर्सन नसकेको त्रिकोणात्मक स्थितिलाई भिडियोमा प्रभावशाली ढङ्गमा उतारिएको छ l

सान थापाको निर्देशन, अर्जुन तिवारीको छायाङ्कन र शिलन लम्सालको सम्पादनमा निर्मित यस भिडियोमा जीवन भट्टराईको साथमा गीतकार तारा स्वयम्लाई कलाकारको रुपमा देख्न सकिन्छ l भिडियोमा एक व्यावसायिक कलाकारले झैं भावपरक अभिनय गरी गीतकार ताराले आफूभित्र रहेको फरक प्रतिभाको समेत पुष्टि गरेकी छिन् l भिडियो गीतकार ताराकै युट्युब च्यानल सुनौलो तारामा हेर्न सकिन्छ l च्यानलमा अपलोड भएको ३ दिनमै भिडियोले ९० हजारको नजिक नजिक भ्युज पाईसकेको छ भने कतिपय दर्शकले त कमेन्ट्समा २५ पटकसम्म दोहोर्याएर हेरेको प्रतिक्रिया दिएका छन् l