भारतीय बिस्तारवाद बिरुद्धको गीत ‘आफ्नो जमिन’ भिडियोमा

अमेरिकाको ब्यस्त जिन्दगीबाट समय झिकेर पनि निरन्तर साहित्य लेखनमा क्रियाशिल रहँदै आएका कवि तथा गीतकार शिव पलाँसको राष्ट्रिय भावको नयाँ गीत आफ्नो जमिन को भिडियो सार्वजनिक भएको छ । छिमेकीले धेरैबर्ष अघिदेखि नेपालको सिमा अतिक्रमण गर्दै आईरहेको र यो बिषय अहिले झन् बल्झिरहेको अवस्थामा समय सापेक्ष चेतनाको आवाज भएर यो गीत निस्किएको छ ।

आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो,
सिमानामा देशको झण्डा गाढ्ने बेला भयो
स्थायी रहेको यो गीतमा रमेश कडरियाको सङ्गीत र स्वर रहेको छ । सङ्गीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् । रमेश कडरियालाई नवगायिका अनिता घिमिरेले साथ दिएकी छिन् । Kadariya Entertainment नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यो भिडियोको निर्देशन भुवन लामाले गरेका हुन् ।

गीतकार शिव पलाँसले यसअघि माया गर्नुको अर्थ, गन्दै जाँदा पिरतीमा, बेहोशीमै छोडी गयौ, आगो भन्ने जान्दा जान्दै लगायत करिब चार दर्जन गीत रेकर्ड गराईसकेका छन् ।