‘डान्सिङ वीथ द स्टार नेपाल’ छिट्टै प्रसारण हुने

कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी शो हेर्न पाउने भएका छन् । लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको डान्सिङ विथ द स्टार नेपाल हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको थाहा भएको छ । ‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौं l लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो l सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने ।

२६ शृङ्खलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एकजना प्रोफेशनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन् । हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल भन्छन्– ‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गाइडलाइन बनाएको छ l लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याउने निधो गरेका छौं ।’ नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपाय सम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी अभ्यास र सुटिङ गरिने कँडेलले जानकारी दिएका छन् ।

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फेमिली रियालिटी शो को रुपमा परिचित छ । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ ।

अनस्क्रिन प्रतिस्पर्धासँगै हुने स्क्रिन बाहिरका गतिबिधिले दर्शकलाई नृत्यमार्फत शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउन सहयोग पुग्ने टेलिभिजनले बिश्वास लिएको छ । दर्शकहरुको भोट र निर्णायकहरुको मूल्याङ्कनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २५ लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन् । नेपालको अग्रणी बिजनेस ग्रुप आइएमइले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने एनएमबी बैंक पावर्डबाइ स्पोन्सर रहेको छ । असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाललाइफ इन्स्योरेन्स, अनलाईन खबर र  नेपाल होम्स डटकम सहभागी भएका छन् । आफ्ना मनपर्ने स्टार कन्टेस्टेन्टलाई आइएमई पे को एप्स डाउनलोड गरी भोट गर्न सकिने छ ।

हिमालय टेलिभिजन एचडीले द भ्वाइस अफ नेपाल, द भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज र नेपाल्स नेक्स्ट टप मोडल जस्ता विश्वचर्चित रियालिटी शोहरु प्रसारण गर्दै आइरहेको छ । डान्सिङ वीथ द स्टार्स प्रसारण सुरु भएसँगै भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसन समेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् ।